
डडेल्धुराः १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा जिल्ला स्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली तयार पार्न छनोट सुरु गरिएको हो।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार विभिन्न १७ खेल विधामा प्रतिस्पर्धाका लागि ४३५ खेलाडीले नाम दर्ता गराएका छन्। दर्ता भएका खेलाडीमध्ये २४८ जना प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछन्।
छनोट प्रतियोगितामा भलिबल, खोखो, ह्यान्डबल, क्रिकेट, टेबलटेनिस, तेक्वान्दो, कराँते, बास्केटबल, उसु, कबड्डी, बुद्धिचाल, एथलेटिक्स, फुटबल, बक्सिङ, आईटीएफ तेक्वान्दो, बुदोकैदो फुलकन्ट्याक्ट कराँते र ब्याडमिन्टन समावेश छन्।




जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा डडेल्धुराको प्रतिनिधित्व गर्नेछन्। प्रदेशस्तरीय छनोटबाट चयन हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको टोलीबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
यसैबीच, जिल्ला छनोटमा स्वर्ण पदक जित्ने खेलाडीलाई व्यक्तिगत रूपमा १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ। यसले खेलाडीलाई प्रतिस्पर्धामा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।



































