
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–६ र ७ को संगमस्थल गौडीमा कात्तिक १९ गते बृहत् सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ। दीपशिखा युवा क्लबको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि दसैँ–तिहार विशेष कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रायोजक ग्रिन होम प्रा.लि. रहेको छ।
दसैँ–तिहारको अवसरमा वर्षभरिका सुखदुःख साटासाट गर्दै आपसी एकता, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दीर्घ साउदले जानकारी दिए। उनका अनुसार गाउँघरमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्नुका साथै विशुद्ध सांस्कृतिक प्रस्तुति र मनोरञ्जनमार्फत सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्य राखिएको छ।




कार्यक्रमको तयारी स्थानीयवासी, विभिन्न संघसंस्था तथा गोदावरी नगरपालिका–६ र आसपासका क्षेत्रमा बसोबास गरी हाल स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सहयोगमा भइरहेको अध्यक्ष साउदले बताए। उनले कार्यक्रम सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।
यसैबीच, कार्यक्रममा गोदावरी नगरपालिका–६ र ७ का शैक्षिक सत्र २०८२ मा कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ। उक्त पुरस्कार अत्तरियास्थित सत्यवती एकेडेमीले उपलब्ध गराउने अध्यक्ष साउदले जानकारी दिए।
उनले सम्बन्धित वडाका उत्कृष्ट विद्यार्थीहरूलाई आफ्नो जीपीएसहित आयोजकसँग सम्पर्क गर्न अनुरोध गरेका छन्।



































