धनगढीको फुलवारीमा १५ शय्याको अस्पताल सञ्चालन, ग्रामीण नागरिकलाई घरनजिकै स्वास्थ्य सेवा

Image
Nisarga Hospital

धनगढीः ग्रामीण क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि समेत धनगढी बजार धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१८ फुलवारीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ। अस्पताल सञ्चालनमा आएसँगै फुलवारीसहित आसपासका ग्रामीण क्षेत्रका बासिन्दाले घरनजिकै स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

यसअघि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको स्थानमा आवश्यक पूर्वाधार थप गरी अस्पताल स्थापना गरिएको हो। सोमबार आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिका–१८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरी र वडा नम्बर १४ का अध्यक्ष मानबहादुर विष्टले संयुक्त रूपमा अस्पतालको उद्घाटन गरेका हुन्।

अस्पतालबाट पहिलो चरणमा बहिरङ्ग सेवा (ओपीडी), प्रयोगशाला, फार्मेसी र एक्सरे सेवा सुरु गरिएको छ। आगामी चरणमा आकस्मिक तथा अन्तरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ। तत्काल ६ जना स्वास्थ्यकर्मीबाट सेवा सुरु गरिएको र आवश्यक जनशक्ति थप गर्दै सेवा विस्तार गरिने स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए। उनका अनुसार निकट भविष्यमै विशेषज्ञ चिकित्सकबाट समेत सेवा उपलब्ध गराउने योजना छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नगरप्रमुख गोपाल हमालले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सञ्चालन गरिएको बताए। उनले फुलवारी क्षेत्रमा शिक्षा, स्वास्थ्य र यातायातलाई प्राथमिकता दिएर विकासका कार्यक्रम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार फुलवारीबाट नगर बस सेवा सञ्चालन, अपाङ्गता भएका नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा सहायक सामग्री वितरण, नमुना विद्यालय सञ्चालन र प्रत्येक महिना वडा स्वास्थ्य क्लिनिक सञ्चालनजस्ता कार्यक्रम भइरहेका छन्।

अस्पताल सञ्चालनले विशेषगरी आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक, बालबालिका तथा तत्काल स्वास्थ्य परीक्षण आवश्यक पर्ने बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसअघि सामान्य स्वास्थ्य समस्याका लागि पनि धनगढी बजार पुग्नुपर्ने बाध्यता रहेकामा अब स्थानीयस्तरमै उपचार पाउने विश्वास स्थानीयको छ।

यद्यपि अस्पताल सञ्चालनमा आउनु मात्रै पर्याप्त नहुने स्थानीय मानकुमारी बस्नेत र खिमलाल बरालको भनाइ छ। उनीहरूले अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त व्यवस्था गरी विशेषज्ञ चिकित्सकबाट नियमित सेवा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

१५ शय्याको अस्पताल सञ्चालनमा आउनु फुलवारी तथा आसपासका ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि महत्वपूर्ण पहल हो। तर अस्पतालको वास्तविक प्रभावकारिता नियमित, गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउन सक्ने क्षमतामा निर्भर रहनेछ। आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्थापन गर्न सके मात्रै स्थानीयले अस्पताल स्थापनाको वास्तविक लाभ लिन सक्नेछन्।

Dhnagadhi & Krishanapur