
कैलाली: नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) को नवनिर्वाचित प्रदेश क्षेत्रीय कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। चौमालामा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापना गराउनुका साथै प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई शपथ ग्रहण गराइएको हो।

क्षेत्रीय प्रदेश सभापति हेमन्तराज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवाल प्रमुख अतिथि तथा क्षेत्रीय सभापति सुरत कार्की विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा पूर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि पूर्ण कुँवर, वसन्त रोकाया (ललित), लोकराज पाण्डे (आगो), विष्णुप्रसाद भाट, पुष्पराज जोशी, दिनेश कलेल, सीपी सापकोटा, गौरीगंगा नगर सभापति हृदय थापा र गोदावरी नगर सभापति रविन्द्र शाही (गुड्डु) लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।




कार्यक्रममा बोल्ने नेताहरूले पार्टीको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक एकतालाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीभित्र आपसी एकता, सहकार्य र समन्वय कायम गर्दै नेता तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
त्यसैगरी, आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार, क्रियाशील सदस्यको सक्रियता र जनतासँगको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसमेत गरिएको थियो। समापनमा सभापति जोशीले नयाँ जिम्मेवारीलाई इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ पूरा गर्दै सबैलाई समेटेर संगठनलाई एकताबद्ध र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन सचिव शंकर सिंह ऐरीले गरेका थिए भने स्वागत मन्तव्य सहसचिव लाल पनाडीले राखेका थिए।



































