
बैतडी:

बैतडीको सिगास गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी एक स्वास्थ्यकर्मी जिल्लास्तरमा उत्कृष्ट घोषित भएकी छन् । वुधवार स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीका अवसरमा जिल्लाका १० वटै स्थानीय तहबाट एक/एक जना गरी छनोट गरिएका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । सोही क्रममा सिगास गाउँपालिका–स्थित चौखाम स्वास्थ्यचौकीमा कार्यरत अनमी हाँसा कुमारी बोहरा (ढाट) पनि उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सम्मानित भएकी हुन् ।
गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा गरेको कार्यसम्पादन, सेवा प्रवाह तथा योगदानका आधारमा उनलाई उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा छनोट गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बैतडी सदरमुकाममा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मीना अर्याल र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडाले बोहरालाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
स्वास्थ्य कार्यालयका प्रमुख ओखेडाका अनुसार स्वास्थ्यकर्मीहरूले आफ्नो कार्यक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो । यसले स्वास्थ्यकर्मीहरूलाई आगामी दिनमा अझ जिम्मेवार, ऊर्जाशील र समर्पित भएर सेवा प्रवाह गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
सिगास गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्लाका उत्कृष्ट १० स्वास्थ्यकर्मीभित्र पर्न सफल बोहराको सम्मानले गाउँपालिकाको स्वास्थ्य क्षेत्रका साथै समग्र स्थानीय तहकै गौरव बढाएको छ । यस उपलब्धिले दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको योगदानको महत्वसमेत उजागर गरेको छ ।
स्वास्थ्य कार्यालय बैतडीले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्दै आएको छ ।







































