धार्मिक पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध जोड्दै बडीकेदार धाम

Image
Nisarga Hospital

धनगढी: नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धामको प्रचारप्रसार भारतको पलियामा गरिएको छ।
आगामी मंसिर ५, ६ र ७ गते बडीकेदार धाममा आयोजना हुने बृहत् मेलालाई लक्षित गर्दै भारतीय सञ्चारकर्मीसँग पत्रकार सम्मेलन गरिएको हो। सम्मेलनमा बडीकेदार धामको धार्मिक महिमा, ऐतिहासिक महत्त्व, पर्यटकीय आकर्षण, दर्शन तथा पूजाआजाको परम्परा र भारतीय भक्तजनलाई सहज रूपमा धामसम्म पुग्ने वातावरण निर्माणका विषयमा जानकारी गराइएको थियो।

CP Hospital Dhangadhi

नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई पर्यटनमार्फत अझ प्रगाढ बनाउने र सीमावर्ती क्षेत्रका नागरिकबीच आपसी सद्भाव तथा धार्मिक सहकार्य विस्तार गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बमले बताए।
उनले बडीकेदार धाममा आयोजना हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटक र भक्तजनको सहभागिता बढाउनुका साथै भारतीय पर्यटकलाई मेलामा मात्रै सीमित नराखी वर्षभरि नै नियमित दर्शन तथा पूजाआजाका लागि आउने वातावरण निर्माण गर्न खोजिएको बताए। धार्मिक पर्यटनले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप आत्मीय र प्रगाढ बनाउने उनको भनाइ थियो।


बडीकेदार धामलाई नियमित धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न समितिले योजनाबद्ध रूपमा काम गरिरहेको कार्यकारी अधिकृत गणेश जोशीले बताए। भारतीय धार्मिक पर्यटकको नियमित आगमन बढाउने, दर्शन तथा पूजाआजाको परम्परालाई व्यवस्थित गर्ने र धामसम्मको सहज पहुँचका लागि आवश्यक पहल गरिने उनले बताए।
भारतका सञ्चारमाध्यममार्फत बडीकेदार धामको धार्मिक महिमा र पर्यटकीय सम्भावनालाई भारतीय सीमावर्ती क्षेत्रका नागरिकसम्म पुर्‍याउन पत्रकार सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जोशीको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पत्रकार सम्मेलनमा धनगढीका पत्रकार पुष्पराज जोशीले बडीकेदार धामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी गराउँदै यो क्षेत्र नेपाल र भारतबीचको धार्मिक सम्बन्ध जोड्ने महत्त्वपूर्ण स्थलका रूपमा विकास हुन सक्ने बताए। धार्मिक आस्था र सांस्कृतिक समानताले दुई देशका नागरिकलाई नजिक ल्याउने उल्लेख गर्दै उनले बडीकेदार धामको प्रचारप्रसारले नेपाल–भारतबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, युवा समाजसेवी एवं राजनीतिज्ञ चित्र बमलगायतको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। बडीकेदार धामको धार्मिक महिमा र पर्यटकीय सम्भावनालाई भारतका विभिन्न क्षेत्रमा पुर्‍याउँदै भारतीय भक्तजनलाई नियमित रूपमा आकर्षित गर्न सके यस क्षेत्रको पर्यटन विकाससँगै स्थानीय आर्थिक गतिविधि र दुई देशबीचको जनस्तरको सम्बन्धसमेत थप बलियो बन्ने अपेक्षा समितिले गरेको छ।

Dhnagadhi & Krishanapur