
धनगढीः कैलालीको धनगढीमा आयोजित सांगीतिक कार्यक्रममा होहल्ला र उपद्रो मच्चाएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति धनगढीस्थित ओम प्यालेसमा गायक कुमा सागरको प्रस्तुति रहेको कन्सर्टका क्रममा होहल्ला तथा अव्यवस्थित गतिविधि भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार मादक पदार्थ सेवन गरी कन्सर्टमा होहल्ला र उपद्रो मच्चाउने १८ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।




उनले कार्यक्रममा सहभागी केही व्यक्तिले मादक पदार्थ सेवन गरी अशान्ति सिर्जना गरेपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए।
कन्सर्टमा भएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए।
सांगीतिक कार्यक्रमका क्रममा शान्ति सुरक्षा कायम राख्न प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूको संलग्नता र घटनाको वास्तविक अवस्थाबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।



































