
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१ तारापुर ढक्का शिविरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट डगौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष मोतीराम डगौराका अनुसार राति हात्ती घरमा प्रवेश गरी आक्रमण गर्न थालेपछि लक्ष्मीका श्रीमान् भागेर ज्यान जोगाउन सफल भएका थिए। तर, भाग्ने क्रममा रहेकी लक्ष्मीलाई हात्तीले आक्रमण गरेको थियो।




हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। पछिल्लो समय बस्तीमा जंगली जनावर प्रवेश गर्दा स्थानीयको जनधनमा जोखिम बढ्दै गएको छ। घटनाले वन्यजन्तुको आक्रमणबाट बस्ती तथा स्थानीयवासीको सुरक्षाको विषय पुनः चर्चामा ल्याएको छ।



































