
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

आज मंगलबार एक कार्यक्रमकाबीच सहरी विकास आयोजनाका इन्जिनीयर सौरभ कलौनीले नगरप्रमुख विरेन्द्र भट्टलाई हस्तान्तरण गरेका हुन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा संघले गोदावरीमा लागू गरेको क्षेत्रीय सहरी विकास आयोजनाको आर्थिक सहयोगबाट बनेको निर्मित भवनलाई नगर प्रमुख बिरेन्द्र भट्ट सँगै निर्वाचित पदाधिकारीहरुको उपस्थितिमा पालिकालाई प्रशासकिय भवन हस्तान्तरण गरेका छन ।
उक्त भवनको दुई दिनपछि (माघ ४ गते बिहान १० बजे) उद्घाटन गरिने नगरपालिकाको तयारी रहेको छ । भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
२०७६ साल मंसिर २० गते देखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ । भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो । भवनको माघ ४ गते उद्गाटन गरिने नगरप्रमुख भट्टले बताएका छन् ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले लामो समय,प्रयास र बिभिन्न बाधाअडचनका साथ भवन निर्माण कार्य सम्पन्न भएको बताए । उनले भाडाको आर्थिकभार भएकाले सबैको सल्लाहमा निर्माण कार्यसंगसंगै यहि बर्षको जेठ महिनामा भाडाको भवनबाट आफ्नै निर्माण भईरहेको भवनमा सरेको बताए । ‘निर्माण कार्य पनि जारी राख्ने र प्रसासन सेवा पनि यतैबाट दिने भनेर सरेका हौ’, उनले भने ‘महिनाको साढे ४ लाख भाडा तिर्नुपर्ने आर्थिक भार परिराथ्यो त्यसैले सबै पालिकापरिवारले सल्लाह गरेर सर्नुपर्छ भनेर सर्यो ।’
नगरप्रमुख भट्टले निवर्तमान नगरप्रमुखको प्रयास र पालमा भवन स्थापित भएकोमा धन्यवाद दिए । तर भवन निर्माण सम्पन्न नभईकन भवन उद्घाटन गर्नचाहि नमिल्ने बताए ।

‘म निवर्तमान मेयर सावलाई धन्यवाद दिन चाहन्छु, उहाँको प्रयास र एडीबीले गोदावरी नगरपालिकामा एउटा ठुलो सम्पत्ती उहाँको पालामा स्थापना भयो म आभार व्यक्त गर्न चाहन्छु, तर उहाँले निर्माण कार्य सम्पन्न नहुदै आज भन्दा २ बर्ष अगाढीमा उद्घाटन गर्नुभयो त्यो चाहि सायद मिल्दैन थियो । आज हस्तान्तण भईसके पश्चात अब चाहि बिधिवत रुपमा भवनको उद्घाटन गर्न मिल्छ । २ बर्ष अगाढी नै गरे तर २ बर्ष सम्म साढे ४ लाखको दरले गोदावरी नगरपालिकाले भाडा तिरेको छ के त्यो नेकपा एमालेका साथिहरुले तिर्न सक्छन् । त्यो गलत हो । आज हामी ठाउमा नेतृत्व गरिराछौ,हामीले पनि मनोमानी गर्न पाउदैनौ यो राज्यको सम्पत्ती हो । भोलीको दिनमा हाम्रो कार्यकाल सकिदै जादा हामीले पनि बनाउदै गरेका केही अधुरा कामहरु होलान हामीले के नाम लेख्दै हिन्दीने, त्यो मिल्दैन । त्यतिबेला उद्घाटनकोे बेला सम्पुर्ण राजनितिक दलका साथिहरुले विरोध गरेका थिए । आजका दिनमा भवनको उद्घाटनका सिलसिलामा जतिपनि राजनितिक दलहरु छन् सबैले सहमति जनाउनु भएको छ, नेकपा एमाले छोड्दिनुस्’ नगरप्रमुख भट्टले भने ।
उनले भवनको यहि माघ ४ गते उद्घाटन गरिने बताएका छन् । यसअघि प्रशासकीय भवन निवर्तमान नगरप्रमुख हरि सिह साउदले २०७८ साल चैत्र १४ गते उद्घाटन गरेका थिए । आज (मंगलबार) भएको भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । तर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधी र पार्टीबाट प्रतिनिधी भने उपस्थित भएका थिएनन् ।
निवर्तमान मेयर साउँदले आफ्नै कार्यकालमा भवन उद्घाटन होस् भन्ने मनसायका साथ त्यतिबेला निर्माणाधीन भवन उद्घाटन गरेका थिए । तर हस्तान्तरण नभएको निर्माणाधीन उधुरो भवन उद्घाटन गरिएको भन्दै उक्त समयमा स्थानीय राजनीतिक दलहरुले विरोध जनाएका थिए ।
बिभिन्न राजनितिक दलहरुले अधुरै भवन उद्घाटन गर्न लागिएको भन्दै विरोध जनाएपछि अवरोध नहोस् भनेर प्रहरीको कडा सुरक्षाबीच भवनको उद्घाटन कार्यक्रम गरिएको थियो ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका नगर कमिटीहरूले उद्घाटनको दोस्रो दिन संयुक्त विज्ञप्ति जारी गर्दै निर्माणाधीन भवन उद्घाटन गरिएकोप्रति आपत्ति जनाएका थिए । तेही समयमा निर्माण सम्पन्न भएपछि भवन पुनः उद्घाटन गर्ने ६ दलले जनाएका थिए ।
गोदावरी नगरपालिका भवन उद्घाटन विगत मिति २०७८ चैत १४ गतेमा तत्कालिन स्थानिय सरकारका नगर प्रमुख हरि सिंह साउँदको अन्तिम कार्यकालमा आफ्नै पालामा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन भएको तर कार्य सम्पन्न नभएको कारण जनाउदै बर्तमान स्थानिय सरकारका नगर प्रमुख बिरेन्द्र भट्टको पालामा निर्माणको काम सकिएको जनाएको छ । तत्कालिन मेयर हरि सिंह साउदले उद्घाटनमा काम सम्पन्न न हुदै हतार गरी उद्घाटन गरेको भएको र अहिले आएर निर्माण सम्पन्न भएकोले प्रशासकिय भवनलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण भएको छ ।

































