सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

Image
Nisarga Hospital

अत्तरिया : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। समर्थन फिर्ता लिने निर्णय गर्न अहिले विहान १० बजेका लागि माओवादी केन्द्रले प्रदेश संसदीय दलको बैठक डाकेको छ।

CP Hospital Dhangadhi

नेपाली कांग्रेससँग सहयात्रा तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सामेल माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार नै बर्खास्त गरिसकेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता मानबहादुर धामीले दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने बताए। माओवादीले समर्थन फिर्ता लिए पनि नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनमा सामेल हुने निर्णय गरिनसकेकाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार सुरक्षित छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रतर्फ १\१ जना सांसद छन्। एक सिट भने रिक्त छ।