नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री र भौतिकमन्त्री दिन शीर्ष नेताबीच सहमति

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकासमन्त्री दिने विषयमा शीर्ष नेताहरूबीच सहमति भएको छ । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक मन्त्री सहितको मन्त्रालय दिने विषयमा सहमति जुटेको हो ।

CP Hospital Dhangadhi

उक्त सहमतिमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सकारात्मक भएका छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति नयाँ सत्ता गठबन्धनको सरकार निर्माणमा निर्णायक भएपछि मुख्यमन्त्रीसहितका मन्त्रालय दिएर सत्ता गठबन्धनको सरकार बनाउने विषयमा सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन् ।

‘पटक पटकको संवाद र छलफल पछि हामीलाई मुख्यमन्त्री र भौतिकमन्त्री दिने विषयमा शीर्ष नेताहरू सहमतिमा पुग्नु भएको छ ’ उनले भनिन्, ‘सुदूरपश्चिममा थारु मुख्यमन्त्री बनाएर उहाँहरूले पनि राम्रो सन्देश दिन खोज्नु भएको छ ।’ अध्यक्ष रन्जिता श्रेष्ठले शीर्ष नेताहरूसँग अन्तिम समयसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी राखेकी थिइन् । दाबी नछोडेपछि शीर्ष नेताहरू बीच भद्र सहमति भएको उनको बताइन् ।