बझाङको छविसपाथिभेरा गाउँपालिकाको १५ औं गाउँसभा अधिवेशन सम्पन्न, २ वटा विधेयक पारित

Image
Nisarga Hospital

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाको १५ औँ गाउँसभा अधिवेशन ( हिउँदे अधिवेशन)  सम्पन्न भएको छ। शुक्रबारदेखि पालिकाको सभाहलमा सुरु भएको अधिवेशन आज सम्पन्न भएको वडा नम्बर ७ का वडाध्यक्ष बिजय बहादुर धामीले सुदूर खबरलाई जानकारी दिए ।

CP Hospital Dhangadhi

गाउँपालिकाको सभाहलमा आयोजित अधिवेशनमा आर्थिक, सामाजिक, तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न एजेन्डामा छलफल र निर्णय भएको छ।

गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने ले गरेका थिए। अधिवेशनमा गाउँपालिकाको चालु आर्थिक वर्षका लागि बजेट संशोधन, विकास योजनाको पुनरावलोकन, र आगामी योजना निर्माणसम्बन्धी प्रस्तावहरूमा छलफल भएको थियो।

nawajiwan
Attariya Hospital

अधिवेशनबाट खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी र सहकारी सम्बन्धी विधेयक गरी जम्मा दुईवटा विधेयक पारित गरिएको समेत वडाध्यक्ष धामीले बताए ।
यसैगरी वडाध्यक्ष धामीका अनुसार आर्थिक वर्ष २०८० /०८१ मा स्थानीय तह संस्थागत स्व मूल्याङ्कन “लिजा” मा जिल्ला प्रथम भएबाफत पालिकाभरिका सम्पूर्ण कर्मचारीहरूलाई टीका खाँदा सहित सूचना प्रविधि अधिकृत सत्यराज थापा लाई प्रमाणपत्रसँगै सम्मान गरिएको थियोे । स्वास्थ्य क्षेत्रतर्फ वार्षिक प्रगति समीक्षा कार्यक्रममा छविसपाथिभेरा गाउँपालिका जिल्लामै प्रथम थियो त्यसैकारणले पालिकाले स्वास्थ्य संयोजक सहित दुईजना अन्य कर्मचारीलाई प्रमाणपत्र सहित सम्मान गरेको छ । यस्तै वडा नम्बर ७ का वडा सचिव धनशेर बुढालाई २०८० /०८१ मा सबैभन्दा बढी राजस्व सङ्कलन, वडामा अतिरिक्त क्रियाकलाप सञ्चालन कार्यसम्पादनमा सन्तोषजनक कार्य प्रगति समीक्षा कार्यक्रमहरुमा उत्कृष्ट भएको आधारमा टिका खाँदा र प्रमाणपत्रसहित सम्मान पालिकाले गरेको छ ।

कार्यक्रममा वडाअध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँपालिकाको समृद्धि र दिगो विकासका लागि संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभाले स्थानीय स्रोत र साधनहरूको अधिकतम उपयोग गर्दै शिक्षा, स्वास्थ्य, कृषि, र पर्यटन क्षेत्रमा प्राथमिकता दिने निर्णय गरेको छ। साथै, प्राकृतिक विपद् व्यवस्थापन, खानेपानी परियोजनाको विस्तार, र रोजगारी सिर्जना कार्यक्रमलाई प्राथमिकतामा राख्ने उल्लेख गरिएको छ।