प्रवासको मृत्यु शैयामा भेटिएकी कमरेड

Image
Nisarga Hospital

गाउँका पुर्व प्रधान पञ्च रामेश्वर काकाको श्वास्थ्यमा केहि समस्या देखिएको भन्दै छिमेकी राधा आन्टीले मलाई खबर गर्नु भएको थियो । मेरो कलेज बिदा भएकोले केहि समय गाउँ फर्किएको थिए । गाउँ पुगेको भोलीपल्ट बिहानै बिरामी काकालाई भेट्न उहाँको घरमा जाने सोच बनाए । 

CP Hospital Dhangadhi

आमाले प्लास्टिकमा पोको पारिदिएको दुईमाना लोकल चामल, सानो बट्टाको तोरीको तेल,दुई पाकेट बिस्कुट र मैले काठमाडौं काकालाई भनेर ल्याई दिएको ट्रयाकसुट लाई सानो झोलामा राखेर हातमा बोक्दै काकाको घर तर्फ लागे ।

रामेश्वर काकाको घर हाम्रो घरको एक दुई कान्ला माथी थियो । म काठमाडौंमा रहेका सहकर्मी साथीलाई फोन गर्दै उहाँको घर तर्फको बाटो लागे । घर नजिकै पुग्दा काकाले ठुलो स्वरमा कसै सँग कुराकानी गरिरहेको सुनियो । म एकछिन अडिए । “यो जन्तरेको छोरो जयान्नदले मेरो छोरो अविनाशलाई नलगेको भए आज म एक्लो हुने थिएन। बुढेसकालको साहरा त हुन्थ्यो । आफु अहिले काठमाडौं तीर टाउको लुकाएर बसेको छ । मेरो बुढेसकालको भरोसा त्यो जयानन्दको कारण गुमाउनुपर्यो ” भन्दै छिमेकी काईली काकी संग गफ गरिरहेको सुने ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

रामेश्वर काकाको कुराले मलाई बितेको बिगतलाई सम्झिन बाध्य बनायो म कामरेड रूप्सना,ज्वाला र अनुपमा अबिनाशलाई मात्रै नभई मेरो जिवनको एक कालखण्डमा गरिएको बिद्रोहको गर्विलो इतिहास मन,मष्तिष्क र जिवनबाटै बिर्सने प्रयत्नमा थिए । बाल्यकालका कोमल हातहरूले देशको क्रान्तिमा हातेमालो गर्दै सुनौलो बिहानीका लागि लडिएका दर्जनौ लडाई र भिडन्तहरूलाई बिस्तारै बिर्सिदै एक आम नागरिकको दिनचर्या बिताईरहेको थिए । बाल मष्तिष्कमा भरिएका क्रान्तिका ध्वनी ,परिवर्तनका लागि दर्जनौ बस्तीहरूमा लगाईएका गनगभेदी नाराहरू र हाम्रो क्रान्तिमा समाहित गर्न जनतालाई दिईएका कयौ प्रशिक्षणहरूले मलाई बिद्रोही मात्रै नभई एक अब्बल र निडर योद्दा बनाएको थियो । जुनकुरा मैले बर्षौ पछि आज बिहान एक्कासी सम्झिनुपर्यो ।

मलाई रामेश्वर काकाको कुरा सुनेर फ्याट्टै उहाँको घर भित्र छिरिहाल्न हिम्मत भएन । काकाले भने जस्तै गाउँका केहि युवाहरूलाई राज्यसत्ता बिरूद्दको बिद्रोहमा सहभागी भई जनताको अग्रगामी मुक्तिका लागि क्रान्तिमा होमिन आह्वान गर्ने मध्येको एक पात्र म ( जयानन्द )आफै थिए । म गाउँकै भरोसायोग्य युवा जयानन्द जसले आफ्नो बाल्यकालको अधिक समय देशको परिवर्तनका लागि छेडिएको बिद्रोहमा एउटा बाल बिद्रोही भएर गुजारे । यति मात्रै नभई गाउँका दर्जनौ युवाहरूलाई क्रान्तिमा सहभागी गराए । तर बिडम्बना

मैले संगठित गरेका मध्ये आधि दर्जन गाउँका दाईदिदिहरूले उक्त जनयुद्धमा बिरगती प्राप्त गर्दै शहिद बन्नु भयो । तिनै मध्येका एकजना रामेश्वर काकाको छोरो अबिनाश पनि थियो ।

अबिनाशलाई सडक निर्माणका क्रममा जिलेटिन पड्काउन आएको तत्कालीन शाही नेपाली सेनाको टोलीले शंकरपुरमा गोली हानेर हत्या गरेका थिए ।

रामेश्वर काकाले भने जस्तै एक्लो छोरो अविनाशलाई मैले सम्झाई बुझाई नगरेको भए सायद उ पनि भुमिगत हुन्थेन होला । आज काकालाई बिरामी हुँदा तातो पानी त तताएर खुवाउथ्यो । जस्ता कुराहरू निकै तिब्र गतिमा मेरो मष्तिष्कमा फन्को मारिरहे ।

म काकाको घर भित्र छिरे । काकाले “ओहो बाबु कहिले आयौ । लौन म त निकै बिरामी छु बाबु ठिक्क समयमा पुगेछौ । मलाई औषधोपचार पनि गर्नुपर्यो । लौ खुशी लाग्यो छोरा तिमी त आईपुगेछौ ” भन्दै हसिलो अनुहार सहित खुशी मुद्रामा देखिनु भयो ।

मैले “हिजो आएको काका “भन्दै जवाफ फर्काए।

मैले बोकेर ल्याएको झोला सिरानीमा राखिदिए ।

“के ल्यायौ यस्तो किन ल्याउनुपर्यो” भन्दै बुढाले फिस्स हासे ।

मैले मेरो नजर रामेश्वर काकाको वरिपरि दौडाए ।

पातलो शरीर, झुस्स दाह्री,खैरौ आखा,निराश मन,शरिरमा मैलो लुगा लगाएर काका खाटमा पल्टिईरहेका थिए ।

पुरानो घरको सानो कोठामा बाबियोले बुनेको खाट अनि खाट नजिकै अविनाशको पुरानो फोटो र नेपाल कम्युनिष्ट पार्टी माओवादीले शहीद परिवारलाई दिएको एक थान सम्मानपत्र नजिकै राखेको देखे ।

काकालाई खुट्टामा सानो घाउ भएको रहेछ । त्यही घाउ बिग्रेर धेरै दुख्ने भएको रहेछ । समयमै उपचार नगराएका कारण घाउबाट पिप बगिरहेको थियो ।” सोध्न त पतारी पनि सोध्याका हु तर निको नाई भयो । पतारी सोधनज्या पन्ज्युनयाकी मसानी लागि रछ्य ,जोला बोक्या खान्या हो भण्यो होरे । तबी ल निको त नाई भयो” भन्दै काकाले धामीलाई पनि सोधेको भुत लागेको र दुईवटा बोकाको बलिदिनुपर्छ भन्नु भयो भन्ने कुरा गर्नु भयो ।

हाम्रो समाज अझै ठुलो अन्धविश्वासमा अडिएको छ । धामीझाँक्री माथी अधिक विश्वास गर्ने परम्पराको अन्त्य हुन सकेको छैन् ।

काकाको खुट्टा निकै सुन्निएको थियो । हेर्दा दुखाई पनि निकै बढि थियो जस्तो देखिन्थ्यो । उहाँ थला परेको बीस दिन बढि भैसकेको रहेछ ।

गाउँलेहरूले आलोपालो गरेर काकालाई खाना पकाईदिने गर्दा रहेछन् ।

काकालाई मैले भोली उपचारका लागि धनगढी जानुपर्छ आज सरसफाई लगायत आवश्यक तयारी गरौ भन्दै कुरो राखे ।

म घर फर्किएको खबर थाहा पाए पछि दौतरीरू बिरे,किस्ने,हर्के,ठुले खुशी हुँदै हाम्रो घरमा आएका रहेछन् ।

सबैलाई भेटेपछि एक छिन माहोल रमाईलो बन्यो । बालापनको गहिरो प्रेमलाई साथीभाई माझ पुन दर्शाउने मौका मिल्यो ।

त्यो रात म काकाकै घरमा काका संगै बस्ने भए ।

भित्तामा सजाएर राखिएको रातो कपडामा सेतो र पहेलो रङ्गले नाराहरू लेखिएको पुरानो ब्यानरमा पर्यो ।

काकालाई बिहान आमाले पठाई दिएको चामलको जाउलो पकाईदिए । आफुले पनि त्यही जाउलो खाए ।

रामेश्वर काकालाई लिएर मैले तत्काल धनगढीको यात्रा तय गरे ।

हरिकृष्ण दाईको सहकारीबाट असी हजार रूपैयाँ बीस प्रतिशत ब्याजदरमा आफैले निकालेर काकाको उपचारका लागि लिए ।

अविनाशले अन्तिम स्वास फेर्दा बोलेका शब्द मध्येका “महान जनयुद्ध जिन्दाबाद! ” र “दाई बुवालाई स्याहार गरिदिनु “भन्ने शब्द त्यो रातभरी मेरो कानमा गुन्जिरहेका थिए । उनले आफ्नो प्राण त्याग गर्दा भनेका शब्द मध्ये पछिल्लो शब्दमा मैले “हवस् भाई “भन्दै सहमती समेत जनाउन नपाई उनले देह त्याग गरेका थिए ।

मैले ईजाले पकाएका माणा ( आमाले पकाएको चामलको रोटी ) केहि जनयुद्ध कालिन समययका डायरी ,केहि पुराना किताब सहित आफ्ना र रामेश्वर काकाका लुगा गरेर दुईटा झोला तयार पारे ।

लबराज दाईलाई खलङ्गाबाट दुईटा नाईट बसको टिकट राखिदिनु भनेको थिए । बिहानै घरबाट हिडियो । सिलंगैर बजारमा आएर चाउचाउको झोल संग माणा खायौ । चैतलीचौर बाट नाईट बस चढेर धनगढी झरियो ।

हुस्सुले पुरै तराईको फाँटहरू घुम्टोमा सजिएकी बेहुली जस्तै सजिएका थिए ।

म काका लाई लिएर धनगढी स्थित मायामेट्रो अस्पतालमा गए ।

रामेश्वर काकालाई त्यहाँ चार दिन सम्म राख्यौ । त्यो समयमा समकालिन विद्यार्थी राजनीतिमा लागेका केहि साथीहरू संग भेट भयो । ती साथीहरूले गेटामा मेडिकल विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै धनगढी केन्द्रित आन्दोलन गरि रहेका थिए। उक्त आन्दोलन राज्यबाट सुदुरपश्चिमले बर्षौ देखि व्यहोर्नु परेको विभेद बिरूद्दको आवाज थियो । उक्त आन्दोलन हाम्रो वलिदानी पुर्ण संघर्ष बाट लेखिएको संविधानमा गरेको निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने मौलिक हकका लागि गरिएको आन्दोलन थियो । तर

सानो तिनो आन्दोलनले केन्द्रीय सत्ताले सहजै सुदुरपश्चिमेलीका लागि आफ्नै माटोमा सहज र शुलभ स्वास्थ्य सेवा पाउनुपर्ने माग सुनि दिने र पुरा गरिदिने वाला थिएन् ।

सुदुरपश्चिमले केन्द्रीय सत्ता बिरूद्द एक पटक समानुपातिक विकास र समन्यायिक स्रोत साधनको वितरणका लागि आन्दोलन छेड्नुपर्छ भन्ने हामी साथीहरू

रमेश,आर्यन, विवश संगको लामो समय पश्चातको महत्वपूर्ण भेटको निष्कर्ष थियो ।

काकाको सबै चेकजाँच सम्पन्न भए पछि डाक्टर राजिव शाहले मलाई उनको क्याविनमा बोलाए ।

“रामेश्वर जी को गार्जियन तपाई हो” भन्दै सोध्नु भयो ।

मैले” हो डाक्टर साप” भन्दै जवाफ फर्काए ।

उनको हाउभाउले मलाई काकाको रोगको बारेमा केहि भन्दैछन भन्ने प्रष्ट हुन्थ्यो ।

हातमा बोकेको काकाको रिपोर्टको झोलाबाट केहि रिपोर्टहरू निकाल्दै उनले काकालाई पेटमा र खुट्टामा भएको घाउमा क्यान्सरको लक्षण देखिएको र ढिला नगरी चितवन वा भारतीय कुनै अस्पताल तीर लैजान सुझाव दिए ।

राजिवको कुराले मन चिसो भयो ।

आखा अगाडी अध्यारो भयो ।

चिडचिड पसिना आए जस्तो भयो ।

मष्तिष्क तिब्र वेगमा चल्न थाल्यो ।

म प्रतिकृया विहिन भए।

“आत्तिनु हुँदैन। चाँडै उपचार गरानु भयो भने ठिक हुन्छ ।”

भन्दै राजिवले भनेका शब्दहरूले बिस्तारै मलाई आफुलाई सम्हाल्न मद्दत गर्यो ।

मैले टाउको हल्लाउँदै डाक्टर राजिवको राय प्रति सहमती जनाए ।

अब काकाको थप उपचारका लागि कहा लैजाने र खर्चको जोहो कसरी गर्ने भन्ने निर्णय म आफैले लिनुपर्ने थियो ।

मैले पहिले नै भारतको दिल्लि स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने थाहा पाएको थिए।

आमालाई घरमा फोन गरेर काकालाई क्यान्सरको लक्षण देखिएको र उपाचारको लागि दिल्ली लिनुपर्ने भनेर खबर गरे । बुवाले खेत बेचेर बनाई दिएको दुई तोलाको गलोफन्दु गाउँकै सहकारीमा राखेर दुई लाख पैसा सापटी मागेर मलाई पठाईदिनु भयो।आमाले दाजुहरू कसैलाई थाहै नदिई मलाई पैसा पठाईदिनु भएको थियो ।

मैले महेन्द्रनगर बाट दिल्लीको बस चढेर काकालाई लिएर लिएर दिल्ली गए।

दिल्ली पुग्दा गाउँकै रामकुमार दाईलाई आनन्द बिहारमा लिन आउनु भनेको थिए ।

राजकुमार दाई हामी नपुग्दै आनन्दबिहार आएर पर्खिरहनु भएको रहेछ । चौध घण्टाको यात्रा पछि हामी दिल्ली पुग्यौ ।

आधुनिक संरचना,ठुला ठुला घरहरू ,फराकिला सडकखण्डहरू हेर्दा दिल्लीको विकास हाम्रो भन्दा निकै प्रशंसनीय थियो ।

म पहिलो पटक दिल्ली गएको थिए । हामी नजन्मिदै कालापहाड (दिल्ली) लाहुरेहरूले दिल्लीबारे थुप्रै किस्साहरू सुनाउनुहुन्थ्यो । तर आज आफैले दिल्ली पुग्दा निकै खुशी पनि थिए ।

रामेश्वर काकालाई हामीले सिधै राजिव गान्धी अस्पतालमै लियौ । काकाको एक दुई दिनको चेकजाँच पछि खुट्टाको अप्रेशन गर्नुपर्ने र पेटको आन्द्रामा समेत सेकेन्ड स्टेजको क्यान्सर भएको भन्ने जानकारी डाक्टरहरूले गराए ।

डाक्टरहरूले काकाको तोकिएकै दिन सफल अप्रेशन भई एक महिना जति बेड रेष्ट गर्नुपर्ने कुरा बताए ।

एक महिना कुरूवा बसेर मात्रै सम्भव हुँदैन भनेर रामकुमार दाई मार्फत आफुलाई कामको खोजी गर्न थाले । हस्पिटल नजिकैको अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम भेट्टाए ।

राजिव गान्धी क्यान्सर अस्पताल नेपालका अधिकांश बिरामीहरूको उपचार गराउने अस्पतालमा पर्दो रहेछ ।त्यहाँ करिब डेढ सय भन्दा बढि नेपाली बिरामीहरू रहेछन् ।

मेरो पनि पन्ध्र बीस जना संग चिनजान भैसकेको थियो ।

त्यहा कुरूवा बस्दा बस्दै चिनजान भएका प्युठानका अखिल मगर संग मेरा कुरा मिल्थे ।

हामी दुबैजना एकै उमेरका भएर पनि होला ।

हामी दुईजनाले हाम्रो देशको स्वास्थ्य सेवाको उपलब्धता लगायत देशको समसामयिक राजनीतिक विषयमा लामै समय गफिएर बस्थ्यौ । देशको दुर्दशा हुनुमा राजनैतिक दलहरू नै भएको हाम्रो निष्कर्ष निस्किन्थ्यो । मैले हस्पिटलमा फुर्सद मिलेको समयमा पुस्तक अनि आफुले बोकेका डायरी पढेर समय बिताउँथे । महिना दिन पुग्दा काकालाई केहि सुधार भए जस्तो भयो । दुखाई कम र रोग निको हुँदै गयो । तर डाक्टरहरूले अझै डेढ महिना रेगुलर फलोअप गर्नुपर्छ भने पछि हामी तत्काल नफर्किई त्यही बस्ने निधो गर्यौ। हस्पिटलले काकालाई निशुल्क बेडको ब्यवस्था गरि दिएको थियो । बाँकी उपचारमा लागेको खर्च मेरो अंश भागमा पर्ने टुणीबोट खेत गाउँकै अर्जुन काकालाई बन्धकीमा दिई पाँच लाख रूपैयाँ जुटाएको थिए । यो सबै काममा घरबाट आमाले सघाई रहनु भएको थियो ।

हाम्रो आमा निकै निडर र आटिली हुनुहुन्थ्यो । सायद जिम्मेवारीले पनि आमालाई त्यस्तो भनाएको हुन सक्छ ।

हामी सानै हुँदा बाबाले कान्छी आमा लिएर कालापहाड भागेर उतै घरजम गरेपछि आमाले नै घर सम्हाल्दै आउनु भएकोले होला साठी कट्दा समेत आमामा निकै हिम्मत भेटिन्थ्यो ।

मैले काकाको बेडकच छेउमा बसेर डायरीहरू पढेको अखिलले खुब ध्यानपुर्वक हेरि रहन्थे । मैले पढ्दा पढ्दै अनि पनि डायरीमा कोरिएका अक्षरहरू माथी आखा दौडाई हाल्थे।

ती डायरीहरूमा विगतका यादहरूको खाता कोरिएको थियो ।एउटा जिवन्त क्रान्तिको भोगाई कोरिएको थियो । एउटा क्रान्तिकारीको जिवनरेखा कोरिएको थियो ।

मैले डायरी पढ्दा अखिल निकै उत्सुक भएर म नजिकै बसेर मेरो डायरीमाथी आखा दौडाईरहन्थे । तर उनि मौन भएर हेरि रहन्थे । उनको हेराईले कि उनि पनि माओवादी हुनुपर्छ। कि अध्ययनमा रूचि हुनुपर्छ भन्ने अनुमान लगाएको थिए ।

एक दिन बिहानै क्यान्टिन नजिकेको खाली चौरमा गएर मार्क्सवाद सम्बन्धी किताब पढिरहेको थिए । अखिल आफै नजिक आएर “कामरेड अभिवादन!

आरामै हुनुहुन्छ नी ?कमरेड ” भन्दै आफ्नो मुठ्ठी शिर माथी उठाउदै मलाई अभिवादन गरे ।

मैले पनि आफ्नो हातको कसिलो मुठ्ठी टाउको माथी उठाउदै अभिवादन फर्काए ।

उनि आज अलि खुल्ने मुडमा रहेको देखिन्थे ।

म पनि जनयुद्धको सिपाही नै हो नी कामरेड भन्दै कुरा अगाडि बढाए ।

“तपाई कमरेड रूप्सनालाई चिन्नुहुन्थ्यो ? “भन्दै अखिलले मलाई प्रश्न गरे ।

“हो हामी सँगै जन सङ्गठन बिस्तारमा लामो समय काम गरेका हौ । तर लम्कीको भिडन्त पछि अहिले सम्म भेटेको छैन । आफ्ना समकालिन सहयोद्दा साथीहरू मध्ये मैले धेरै मिस गर्ने साथी रूप्सना हुन “भन्दै मैले अखिललाई जवाफ फर्काए।

अखिलले मैले पढ्दै गरेको डायरी र रामेश्वर काकाबाट मेरो बारेमा धेरै सुचना लिई सकेका रहेछन् ।

मैले एउटा डायरीको अधिकांश भाग कमरेड रूप्सनाको बारेमा लेखेको थिए। त्यही भएर उनले ठ्याक्कै रूप्सनाकै बारेमा प्रश्न गरेका रहेछन् ।

म पनि करिब सात बर्ष भुमिगत जीवन बिताए ।

सामाजिक रूपान्तरणको लागि महान जनयुद्धमा होमिए ।

दाई गुमाए । बुवा वेपत्ता हुनु भयो । भाउजु घाइते हुनु भयो । तर आज जुन समाज र देशका लागि बिद्रोदको ज्वाला उचाल्यौ त्यही आफ्नो हुन सकेन भन्दै अखिलले दिलै खोलेर कुरा निकाले ।

हामीले दुई कप कालो चायको अर्डर गर्यौ ।

चियाको चुस्की सँगै हाम्रा युद्धकालीन अन्तरङ्ग कुराकानीको दैलो बिस्तारै उघारिदै गयो ।

अखिल र मेरो उमेर मिल्ने,विचार मिल्ने,संघर्ष र धरातल मिल्ने भएकाले हामी बीच उपचारको शिलसिलामा प्रवासमा भएको भेट निकै महत्त्वपूर्ण र फलदायी हुन्छ जस्तै माहोल बनिरहेको थियो ।

अखिल आफ्नो भाउजुको उपचारमा दिल्लीमा रहेछन।

भाउजुको पनि लामो समय देखि उपचार गराएर उतै काम गर्दै बसिरहेका रहेछन् ।

उनले भाउजु घाईते भनेपछि मेरो उत्सुकता उनको भाउजुलाई भेट्ने तर्फ मोडियो ।तर मैले उनलाई उक्त कुरा व्यक्त गर्न सकिन् ।

अखिलले “तपाईले सँगै काम गरेको कामरेड मैले भेटाउन सक्छु है कामरेड “भन्दै मलाई फेरी अझै उत्सुक बनाए ।

“हो र लौ त्यसो भए हामी दुईको भेट त ऐतिहासिक नै हुने भयो नी” भन्दै फिस्स हासेर जवाफ फर्काए।

मेरो मधुर हाँसोमा अखिलले पनि हासेरै समर्थन जनाए ।

भित्र बाट माईकमा अखिलको मान्छे भएको बिरामी कुरूवाको खोजि भैरहेको भनेर बोलावट भयो ।

अखिल हतार हतार भित्र दौडिए ।

म त्यही क्यान्टिनमा बसिरहे ।

अखिलको लामो प्रतिक्षा गरे । उनि त्यहा फर्किएनन् ।

त्यो बिचमा मैले काकालाई खानेकुरा लगि दिएर खुवाए ।

साझको साढे सात बज्दा समेत अखिल हामी भएको ठाउँमा नआए पछि म आफै दिउसो माईकमा बोलावट भएको बेड भएको फ्लोरमा जान्छु भनेर निस्किए।

त्यो बेड खाली थियो।

वरिपरिका बेडका मान्छेलाई सोधे “यिस बेडका भाईसाप कहा गया है” भनेर !

सबैले “उनके मरिजका तक्लिब जादा होकर आईसियुमे लेके गया है फिफ्थ फ्लोर मे” भन्दै जवाफ फर्काए।

मलाई उकुसमुकुस भयो ।

म अखिल लाई भेट्न पाँचौ तल्लामा रहेको आईसियुमा गए ।

टाढै बाट अखिल लाई ढोकामा कुरिरहेको देखे ।

उनलाई “भाउजु लाई बढि भएको हो “भन्दै सोधे ।

हो कामरेड भाउजु सायद भन्दै घुक्कघुक्क गर्न थाले ।

उनका आखाबाट आशुहरू तिव्र बेगले बगिरहेका थिए।

कामरेड “धौर्य गरौ” । जीवन यस्तै हो भन्दै सम्झाउने प्रयास गरे ।

एकछिनको मौनता पछि हामी दुबैजना पुन सम्वादमा जोडियौ । अखिल आफैले लामो स्वास फेर्दै ।

भाउजुलाई बर्दियाको प्यारातालमा भएको दोहोरो भिडन्तमा खुट्टा र पेटमा गोली लागेर घाईते हुनु भएको थियो ।

तर त्यही घाउमा छर्राहरू बाँकी नै रहेकोले पछि क्यान्सर हुन गयो । दाई शहिद भए पछि आफु जनसेनामा गएको र पछि प्रमाणिकरको समयमा बहिर्गमनमा परेको भनेर आफ्नो बृतान्त खोले । पछि घाईते भाउजूलाई सँगै लिएर कैलालीमा दुईकट्टा जग्गामा सानो टिनको छाप्रो बनाएर बस्दै आएकोमा भाउजु एक्कासी बिरामी हुँदा उपचारका लागि काठमाडौं लिएर गएको र उक्त समयमा प्रचण्ड दोस्रो पटक देशको प्रधानमन्त्री रहेको तर आफुले प्रधानमन्त्रीलाई भेट्न खोज्दा समेत पार्टीका साथीहरूले भेट्न समेत नदिएको गुनासो सुनाए । त्यसपछि साथीहरूको सल्लाहमा आफुले भाउजूलाई दिल्ली लिएर डेढ बर्ष बाट उपचार गराईरहेको र उपचारमै कैलालीको घर जग्गा समेत बेचिसकेको कुरा सुनाए ।

उनको गुनासोले मन भतभती पोल्यो ।

उनले यति सुनाए मलाई उनको भाउजु लाई भेट्न मन लाग्यो ।

भित्रै बाट श्रद्दा र सहानुभुती पलाएर आयो । एक छिन सोचे जसले देश र जनताको लागि गोली खाएर परिवर्तन ल्याउनका लागि लडे तिनले आज यसरी राज्य बाटै स्वास्थ्य उपचार समेत नपाएर अर्काको देशमा आएर यसरी मर्नुपर्ने स्थितीले मलाई निकै दुखित तुल्यायो।

मैले अखिललाई “कामरेड भित्र जान पाइन्छ कि नाई” भनेर सोधे । म उनको भाउजूसँग भेट्न उत्सुक थिए।

अखिलले पाईन्छ। तर भित्र बाट बोलाए पछि मात्रै भन्ने जवाफ फर्काए।

हामी दुबैजना गफिएरै बसेका थियौ ।

एकछिनमै भित्र बाट बोलावट भयो ।

हामी दुबैजना भित्र प्रवेश गर्यौ ।

अखिलले पुलुक्क भाउजु तीर हेरे ।

भाउजुले आँखा ठाडो ठाडो पारेको देखिन्थे ।

उनलाई मुखबाट अक्सिजन पाईप राखिएको थियो ।

डाक्टरहरूको टिम आएर “सरी हमने खुब प्रयास किया लेकिन हम हार गये ” भन्दै जवाफ दिए ।

डाक्टरहरूको कुरा सुनेपछि अखिलको भाउजुले देह त्याग गरिसकेको भन्ने बुझ्न गाह्रो थिएन ।

उनको भाउजुको अनुहार देखेपछि मलाई यी मान्छे चिनेको जस्तै लाग्यो ।

हामी दुबैलाइ डाक्टरहरूले एक घण्टा जति कुरेपछि हामी मृत घोषणा गरिदिन्छौ । तपाईहरूको बाँकी तयारी गर्नु भन्ने जवाफ दिए ।

अखिल र म बाहिर निस्कियौ ।

ढोका नजिकै पुग्दा अखिलले “सरी कामरेड मैले तपाईलाई भेटाउँछु भनेको मान्छे मेरै भाउजु हुन । तपाईकी डायरीको पानाका अक्षरहरूमा कोरिएकी कामरेड रूप्सना ” भनेपछि म झन छाँगाबाट खसे जस्तै भए।

मलाई अखिलको जवाफ सुनेर रिङ्गठा लागे जस्तो भयो ।

म बिस्तारै भित्ताको अडेस लागेर थचक भुईमा बसे ।

आफु सँगै क्रान्तिमा होमिएर महिला शशक्तिकरण र सामाजिक सांस्कृतिक विभेद बिरूद्द राज्य व्यवस्था सँग युद्धमा होमिएकी एक होनहार नेतृको यसरी प्रवासमा भएको दुखद अन्त्यले मलाई हामीले गरेको बिद्रोदको सच्चाई र गहिराई केलाउन मन लाग्यो।

हामीले लडेर ल्याईदिएको व्यवस्थाका नव शासकहरूलाई धिक्कार्न मन लाग्यो ।

करिब डेढ घण्टा पछि डाक्टरको टिमले रूप्सनालाई मृत घोषित गरे ।

मैले बाईस बर्ष पछि कामरेड रूप्सनालाई छिमेकी मुलुकको हस्पिटलको मृत्यु शैयामा भेटेको थिए।

अखिल ,म र अन्य चार जना साथीहरू मिलेर राती नै एम्बुलेन्सको प्रबन्ध गर्यौ ।

बिहानीपख चार बजे तीर राजघाटमा पुर्यायौ ।

-कामरेड रूप्सना -लालसलाम!

-महान जनयुद्ध-जिन्दाबाद !

-अमर शहीदहरू -लालसलाम भन्दै

मैले झोलामा बोकेर लिएको हँसिया हतौडा अंकित झण्डा ओडाएर कामरेड रूप्सनालाई सदाका लागि बिदा गर्यौ ।

Dhnagadhi & Krishanapur