
कैलालीः कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा एक व्यक्तिको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

स्रोतका अनुसार तीमध्ये एक जनाले आफूले नै हत्या गरेको स्वीकार्दै दिएको बयानले घटना थप चासोको विषय बनेको छ। प्रहरीका अनुसार मृतक ३५ वर्षीय जगदीश कैनी डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी बासिन्दा हुन्।
उनी केही वर्षदेखि अत्तरियामा सडक पेटीमा जीवन बिताउँदै आएका थिए। मृतक कैनी प्रायः अत्तरियाकै दुर्गा मन्दिर परिसरमा राति बस्ने गरेका थिए। घटनाको राति दुर्गा मन्दिरमै सुतिरहेका बेला टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। हत्या पश्चात शव मन्दिरको पछाडितर्फ घिसारिएको थियो।


प्रहरीले घटनामा संलग्न आशंकामा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको विवरण आधिकारीक रुपमा प्रहरीले सार्वजनिक गरेको छैन। जसमा दुई पुरुष र एक महिला छन्।पक्राउ परेकामध्ये एक पुरुष र महिला पूर्व माओवादी लडाकु भएको खुलेको छ। उनीहरू आफूलाई श्रीमान–श्रीमतीको रूपमा चिनाउने गरेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका एक पुरुषले हत्या आफैंले गरेको स्वीकार्दै भनेका छन्, “कैनीले मेरी श्रीमतीलाई जिस्क्याउने, मलाई अपांग देखेर होच्याउने र पैसासमेत चोर्ने गर्थे। त्यसैले रिसले ढुंगा हानेर हत्या गरेको हुँ।” तर, मृतक पनि शारीरिक रूपमा अपांग भएको र हत्या गर्ने भनिएका व्यक्तिको क्षमताको आधारमा एक्लैले यस्तो निर्मम हत्या गर्न सक्ने सम्भावना न्यून देखिएको प्रहरीले जनाएको छ।
त्यसैले घटनाको थप अनुसन्धान भइरहेको छ। घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको ढुंगा र आरोपीका लुगामा रगत लागेको प्रमाणसमेत संकलन गरेको छ। अनुसन्धान जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीबाट संयुक्त रूपमा अघि बढाइएको छ।































