
बैतडी: बैतडीको सिगास गाउँपालिकाको गाउँ सभाको १७ औँ अधिवेशन सम्पन्न भएको छ । सभाहल गर्जेमा आज असार १० गते गाउँपालिकाको आर्थिक वर्ष २०८२।८३ को लागि रु. ५५ करोड ४२ लाख ७४ हजार १ सय ९ रूपैयाँको आय व्यय बिवरण सहितको बजेट तथा कार्यक्रम पारित गर्दै गाउँसभा समापन भएको हो ।


सो बजेट मध्ये आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ६० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ ८२ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तर्फ १० करोड ७३ लाख ९८ हजार १ सय ९, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व (सवारी कर) २९ लाख ७१ हजार, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २२ करोड ९९ लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ ७० लाख, आन्तरिक आय तर्फ रु. ७६ लाख १५ हजार, चालु आ.व. मा हुन सक्ने बैंक मौज्दात रु. ४ करोड ७० लाख ६० हजार समेत गरी कूल रु. ५५ करोड ९० लाख ७४ हजार १०९ आम्दानी हुने अनुमान गरिएको गाउँ सभामा जानकारी गराइएको थियो ।


गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा बैशाख १९ गते गाउँपालिका अध्यक्ष हरि सिंह धामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गाउँसभाको जेठ ७ गते बसेको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष धाना धामीले ५५ करोड ९० लाख ७४ हजार १ सय ९ रुपैयाँ बराबरको बजेट गाउँ सभामा पेश गर्नुभएको थियो । चालु तर्फ जम्मा विनियोजन रकम ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ अर्थात् ६७.७ प्रतिशत र पुँजीगत तर्फ र १८ करोड ४१ लाख ७ हजार अर्थात् ३२. ९३ प्रतिशत रकम विनियोजन गरिएको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामीले जानकारी दिनुभयो ।

सिगास गाउँपालिकाको गाउँसभाको १७ अधिवेशनको अन्तिम बैठक अर्थात असार १० गते आगामी आर्थिक वर्ष २०८२।८३ का लागि बजेट तथा कार्यक्रम गाउँपालिका अध्यक्षको सभाध्यक्षतामा सर्बसम्मत पारित गरिएको सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष धामीले गाउँ सभाका सदस्यहरुले प्रस्तुत गरेको बजेटको संशोधनलाई सकेसम्म समेट्ने गरी बजेटलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई गाउँसभाले सर्बसम्मत पारित गरेको थियो ।


सभामा गाउँपालिका अध्यक्ष धामीले आगामी आर्थिक वर्षको आय व्यय, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास राष्ट्रिय रोजगार लगायतका विषयहरुमा केन्द्रित बजेट तथा कार्यक्रम सर्बसम्मत पारित भएको जानकारी दिनुभयो ।

बजेटमा आपूर्ति, उर्जा, पर्यटन, खानेपानी तथा सरसफाई खेलकुद, शिक्षा, स्वास्थ्य, स्थानिय सडक पुल तथा बाटो,भवन, सिँचाइ, तटबन्ध लगायत विविध विषय समावेश गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।

सभाध्यक्ष एवं सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले समृद्ध र समुन्नत सिगास गाउँपालिका बनाउन वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, विषयगत शाखामा कार्यरत कर्मचारीहरु लगायत आम जनता सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।































