

बझाङः बझाङमा जिल्ला स्तरीय कृषि, पशुपक्षी तथा विपद् व्यवस्थापनसम्बन्धी सरोकारवाला बैठक सम्पन्न भएको छ। दलित सहयोग समाजको आयोजनामा र कृषि ज्ञान केन्द्रको समन्वयमा सम्पन्न उक्त बैठकमा कृषि क्षेत्रका चालु वर्षमा सम्पन्न क्रियाकलाप, विपद् व्यवस्थापनका पूर्वतयारी र अपनाउनुपर्ने सतर्कता बारे व्यापक छलफल गरिएको थियो।
बैठकमा दलित सहयोग समाजले विभिन्न सरकारी तथा गैसससँगको समन्वयमा सम्पन्न कार्यक्रमहरूको विवरण प्रस्तुत गरेको थियो। कृषि ज्ञान केन्द्रका प्रमुख खेम पनेरुले जनताले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले बर्खाको समय नजिकिँदै गएकाले कृषकहरू बढी प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सबै निकायलाई सक्रिय रूपमा लाग्न आह्वान गर्नुभयो।


बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, १२ वटै स्थानीय तहका कृषि शाखा प्रमुख, घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालयका प्रमुख लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले संस्थाहरूले समाजमा काम गरिरहे पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिन नसकेको भन्दै अझै प्रभावकारी काम गर्न समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे। उनीहरूले जनताले प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने कार्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रमको अध्यक्षता गरेका कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरुले बैठकमा उठाइएका सबै विषयहरू महत्वपूर्ण र यथार्थपरक भएकाले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। साथै, आफू जिल्लामा आएको दिनदेखि कृषकहरूको हितमा गम्भीर भएर लागिरहेको जानकारी दिँदै, जिल्लामा चुक खेतीको राम्रो सम्भावना रहेकोले चुक प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ कि भन्ने विषयमा पहल भइरहेको पनि उल्लेख गर्नुभयो।


































