
रमेश बहादुर सिंह /बझाङः बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२ असोज ७ गते राति प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–७ कचालीखोलामा शंका लागेका व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–२ बस्ने १८ वर्षीय ज्ञानेन्द्र कुमार मण्डेल र सोही उमेरका अजय मण्डेल रहेका छन्। प्रहरीका अनुसार ज्ञानेन्द्र मण्डेलले बोकेको झोलामा लुकाइ–छिपाई राखिएको अवस्थामा २ किलो १ सय ग्राम चरेस, तौल गर्न प्रयोग हुने तराजु तथा ५०० ग्राम क्षमताको ढक फेला परेको छ।

प्रहरीले बरामद गरिएको चरेससहित दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।































