सुदूरपश्चिम प्रदेशका सबै मन्त्रालय दिन थाले सेवा

Image

अत्तरिया : जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सेवा दिन थालेका छन् ।

सरसफाइ र मर्मतसम्भार गरेर मन्त्रालयहरूलाई सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी (उपसचिव) जगदीश जोशीले जानकारी दिए । त्यस्तै बढी क्षति भएका मन्त्रालयको कामकाज अन्य भवनबाट थालिएको छ । तोडफोड र आगजनीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित मन्त्रालयहरूको कामकाज रोकिएको थियो ।

nawajiwan
Attariya Hospital

उपसचिव जोशीले अनुसार भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित विभिन्न कार्यालयमा क्षति पु-याएका थिए । कम क्षति भएका मन्त्रालयहरू सरसफाइ र आवश्यक मर्मत गरेर कामकाज सुचारु गरिएको छ ।

बढी क्षति भएको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको भवनबाट भने तत्कालै कामकाज सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक भवनबाट कामकाज भइरहेको छ । सबैभन्दा बढी क्षति भएको प्रदेश सभा भवन भने सञ्चालनमा आउन सकेको छैन । प्रदेश सभा भवनको मर्मतका लागि छलफल चलिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । सम्भवतः तिहारपछि प्रदेश सभा भवनको कामकाज सुरु हुने जोशीले बताए ।