
भाद्र २३–२४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त गोदावरी नगरपालिकाको पुनर्निर्माण अभियान “मेरो पालिका, म आफैं बनाउँछु” मा साथ दिने सम्पूर्ण संघ–संस्था, समूह, विद्यालय, सहकारी संस्था तथा स्थानीयवासीहरूमा गोदावरी नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।

यसै क्रममा अत्तरिया स्थित दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयका शिक्षकहरूले व्यक्तिगत सहयोग स्वरूप १ थान कम्प्युटर, १ थान All in One कम्प्युटर र १ थान प्रिन्टर उपलब्ध गराएका छन्। उक्त सहयोगले नगरपालिकाको कार्यालय सञ्चालन र पुनर्निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ।

नगर प्रमुख बिरेन्द्र भट्टले शिक्षकहरूद्वारा देखाइएको सहयोगी भावना र जिम्मेवारीप्रतिको प्रतिबद्धताको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, “यो कठिन घडीमा देखाइएको सहकार्य र एकताले हाम्रो नगरलाई पुनः उठाउन ठूलो प्रेरणा मिलेको छ।”

नगरपालिकाले आगामी दिनमा पनि यस्तो साझा भावना र सहभागिताबाट गोदावरीलाई थप सुदृढ र समुन्नत बनाउन सबै पक्षसँग सहकार्य जारी राख्ने प्रतिवद्धता जनाएको छ।
































