
सुदूरपश्चिम प्रदेश सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई नहटाउने निर्णय गरेको छ। संघीय सरकारले खर्च कटौती नीति अन्तर्गत करार कर्मचारी घटाउने तयारी गरे पनि प्रदेश सरकारले आफ्नो क्षेत्रको आवश्यकता हेरी यथास्थान राख्ने नीति लिएको हो।

मुख्यमन्त्री कमल बहादुर शाहका अनुसार सुदूरपश्चिममा अझै पनि विभिन्न कार्यालयमा जनशक्ति अभाव छ, जसले सेवा प्रवाहमा कठिनाइ ल्याएको छ। उनले भने, “हाम्रो प्रदेशमा करार कर्मचारी हटाउँदा स्वास्थ्य, शिक्षा, कृषि र प्रशासनिक सेवा ठप्प हुन सक्छ, त्यसैले हटाउने कुरा सैद्धान्तिक रूपमा सम्भव छैन।”
मुख्यमन्त्री शाहले थपे, “सरकार कसैको रोजीरोटी खोस्ने पक्षमा छैन, जनतालाई अझ सशक्त र सहज सेवा दिने प्रयासमा छ।” प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर जनसेवामा प्रत्यक्ष असर नपर्ने निर्णय लिएको जनाएको छ।
त्यस्तै, प्रदेशसभाका सदस्य र पदाधिकारीका स्वकीय सचिवहरू सम्बन्धी व्यवस्था सेवा–सुविधा ऐन अनुसार लागू हुने पनि मुख्यमन्त्रीले स्पष्ट पारे। सुदूरपश्चिममा सीमित स्रोत र पूर्वाधारका कारण स्थायी कर्मचारी अभाव रहेको बताउँदै सरकारले करार कर्मचारीलाई निरन्तरता दिँदै सेवा प्रवाह सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ।



























