
बैतडीः बैतडीमा पछिल्लो समय डेङ्गी सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्ला तीन महिनामा १८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो।

ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालका अनुसार संक्रमितमध्ये मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडीका तीन जना र पाटन नगरपालिकाका एक जना रहेका छन्। अन्य स्थानीय तहमा हालसम्म डेङ्गीका बिरामी फेला परेका छैनन्।
गत वर्ष जिल्लामा १०६ जनामा डेङ्गी देखिएको थियो। अहिले जिल्लाभर लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले एडिस जातका सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने भएकाले लामखुट्टाबाट बच्ने उपाय अपनाउन आग्रह गरे।


डेङ्गीका लक्षणमा कडा ज्वरो, टाउको र जोर्नी दुख्ने, खाना खान मन नलाग्ने, रगत बग्ने आदि देखापर्छन्। यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।
#DengueAlert #Baitadi #HealthNews #Nepal
































