
कञ्चनपुरको भीमदत्त नगरपालिकाले इजरायल–हमास युद्धमा ज्यान गुमाएका भीमदत्त–३ महेन्द्रनगरका विपिन जोशीको परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार नगर प्रमुख पदम बोगटीले विपिनको परिवारलाई किरियामा भेटेर समवेदनासाथ रकम हस्तान्तरण गर्ने जानकारी दिएका थिए।

नगरप्रमुख बोगटीले विपिनको सम्झनामा चोक बनाउने घोषणा पनि गरेका छन्। विपिन दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रममा इजरायल गएका थिए। त्यहाँ हमास समूहले उनलाई बन्धक बनाएको थियो। युद्धविरामको अन्तिम समयमा २७ असोज २०८२ मा उनकाे शव हमासले इजरायललाई बुझाएको थियो।

पछि ४ कात्तिक ०८२ मा महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ विपिनको अन्त्येष्टि गरिएको थियो। नगरपालिकाको यस निर्णयले विपिनको बलिदान सम्झने र परिवारको आर्थिक सहायतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। यो कदम स्थानीय प्रशासनको संवेदनशीलता र मानवीय पहलको उदाहरणका रूपमा पनि लिइएको छ।

#BhimdattMunicipality #VippinJoshi #IsraelWar #NepalAid #HumanitarianSupport
































