
अत्तरियाः कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाका सदस्यमा मनोनीत भएका डा. डम्बर बहादुर पाललाई विश्वविद्यालय सङ्घर्ष समितिले बुधबार एक समारोहका बीच सम्मान गरेको छ।

लामो समयदेखि विश्वविद्यालय स्थापनाका लागि निरन्तर आवाज उठाउँदै आएका पाल सभासद् बनेपछि समितिले उनलाई सम्मानित गरेको सह–संयोजक आनन्द भट्टले बताए।
कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष भुपेस जोशी र हालै सचिवमा निर्वाचित धर्म सिंह कुँवरलाई पनि सम्मान प्रदान गरिएको थियो। सभाका सदस्य डा. पालले जनताको आवाज प्रतिनिधित्व गर्ने पुलको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले विश्वविद्यालय ऐन कार्यान्वयनको चरणमा पुगेको र छिट्टै उपकुलपति तथा रजिष्ट्रार नियुक्त हुने जानकारी दिए। सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले विश्वविद्यालय स्थापनापछि पनि ६ सय शय्याको अस्पताल र एमबिबिएस पढाइ सुरु नभएसम्म आन्दोलन जारी रहने बताए।
बैठकले समितिको नाम परिवर्तन गरी ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वयन तथा सरोकार समिति’ राख्ने र बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको सचिव कुँवरले जानकारी दिए।




























