
रमेश बहादुर सिंह/ बझाङ: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बझाङको आयोजनामा “जिल्ला स्तरीय उन्नत प्रविधि, प्राथमिक प्रसोधन तथा पोस्ट–हार्भेस्ट व्यवस्थापन तथा कृषि यान्त्रिकीकरण किसान तालिम” आज उदघाटन भएको छ। तीन दिनसम्म चल्ने यो तालिम कार्तिक २७ गतेदेखि २९ गतेसम्म चल्ने भएको छ।

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख चरित्र नारायण यादवले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहरा रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजाल, भेटनरी सेवा कार्यालय प्रमुख कबिराज कठायत, कृषि ज्ञान केन्द्र प्रमुख खेम पनेरु, र नागरिक समाज अगुवा धर्मजङ बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा कार्यालय प्रमुख यादवले तालिमको उद्देश्य र यसको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो। त्यस्तै, नगर प्रमुख बजाल, नागरिक समाजका अगुवा सिंह, कृषि ज्ञान केन्द्र प्रमुख पनेरु, र भेटनरी कार्यालय प्रमुख कठायतले समेत किसानका लागि यस्ता तालिमहरूले ल्याउने व्यवहारिक परिवर्तन र कृषि आधुनिकीकरणमा योगदानबारे आफ्ना धारणा राख्नुभयो।


जिल्ला समन्वय समिति प्रमुख बोहराले पनि आफ्नो भनाइ राख्दै, आधुनिक प्रविधि र यान्त्रिकीकरणमार्फत उत्पादकत्व बढाउन यस्ता तालिमहरूको निरन्तरता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन प्राविधिक दिपेन्द्र सिंहले गर्नुभएको थियो। तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट ३० जना किसानहरूको सहभागिता रहेको थियो।
उक्त तालिमले किसानहरूलाई कृषि उत्पादनमा नयाँ प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट–हार्भेस्ट व्यवस्थापन र कृषि उपकरणको प्रभावकारी प्रयोगका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्ने आयोजकले जनाएको छ।
































