
कैलाली बहुमुखी क्याम्पसका भौतिकशास्त्रका छात्र सुभाष गिरीले बीएससी (८औँ सेमेस्टर) मा पूर्ण ४ जीपीए हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका छन्। विज्ञान संकाय अन्तर्गत अध्ययनरत गिरीलाई क्याम्पसका अनुशासित, नियमित र अत्यन्त अध्ययनशील विद्यार्थीका रूपमा चिनिन्छ।


सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको विभिन्न सेमेस्टरमा पनि उनले निरन्तर उच्च जीपीए प्राप्त गर्दै आफ्नो शैक्षिक क्षमता प्रमाणित गर्दै आएका छन्। चैतन्य पाठशालामा अध्यापनसमेत गर्दै आएका गिरीले समय व्यवस्थापन, अनुशासन र निरन्तर परिश्रमलाई आफ्नो सफलताको मुख्य आधार मान्छन्। उनी भन्छन्, “नियमित अध्ययन र आत्मविश्वासले मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ।”
गिरीको यस उत्कृष्ट उपलब्धिलाई क्याम्पस प्रशासन र सुदूरपश्चिम विश्वविद्यालयले अनुकरणीय र अत्यन्त प्रेरणादायी सफलता भन्दै बधाइ दिएका छन्। क्याम्पस प्रशासनका अनुसार, सुभाषले हासिल गरेको ४ जीपीए न केवल क्याम्पस, प्रदेश र विश्वविद्यालयकै गर्वको विषय बनेको छ, यसले अन्य विद्यार्थीलाई पनि मेहनत, अनुशासन र निरन्तरताप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
सुभाष गिरीको यो उपलब्धि शिक्षाको क्षेत्रमा काठमाडौँ बाहिर रहेका क्याम्पसहरू पनि उत्कृष्ट नतिजा दिन सक्षम रहेको प्रमाणको रूपमा पनि हेरिएको छ।
































