
महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। सिटी स्क्यानसहित अत्याधुनिक उपकरण सञ्चालनमा आएपछि रिफर सेन्टरका रूपमा परिचित अस्पतालले हाल २३ जना विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ। मेडिसिन, सर्जरी, हाडजोर्नी, स्त्री–प्रसूति, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक स्वास्थ्य सेवाबाट दैनिक बिरामी संख्या वृद्धि भएसँगै शय्या अभाव देखिन थालेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले बताए।

उनका अनुसार, सिटी स्क्यान सुरु भएपछि क्यान्सरको प्रारम्भिक पहिचानदेखि चोटपटक, दिमागमा नसा च्यापिने समस्या तथा हेमाटोमा जस्ता जटिल अवस्थाको निदान स्थानीयमै सम्भव भएको छ, जसका कारण भर्ना दर तीव्र गतिमा बढेको छ। यसै कारण तत्काल बेड विस्तार आवश्यक भएको र यसका लागि प्रदेश सामाजिक विकास मन्त्रालयसँग पहल भइरहेको उनले जानकारी दिए।

आगामी मङ्सिरदेखि ओपिडी र आकस्मिक कक्षमा छुट्टै अत्याधुनिक एक्स–रे सेवा सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ। विशेषज्ञ सेवाको विस्तारपछि स्थानीय बिरामीलाई अन्यत्र रेफर हुनुपर्ने बाध्यता घट्दै गएको छ।

रेडियोलोजिस्ट सन्तोष आत्रेयका अनुसार, पहिले एक्स–रेमा सीमित सेवा रहेकाले धेरै बिरामी रेफर गर्नुपर्थ्यो तर अब सिटी स्क्यानबाट महेन्द्रनगरमै क्यान्सरको प्रारम्भिक पहिचान गर्न सम्भव बनेको छ। अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णानन्द भट्टका अनुसार, सेवाको दायरा बढेसँगै अस्पतालमा आउने बिरामीको संख्या विगतको तुलनामा दोब्बर बढेको छ।
































