
सुदूरपश्चिम प्रदेशमा पहिलो अत्याधुनिक क्याथल्याब सेवा अत्तरिया अस्पताल प्रालिबाट औपचारिक रूपमा शुरु गरिएको छ। प्रदेशको मुख्य प्रवेशद्वार तथा तीव्र रूपमा विकसित हुँदै गएको स्वास्थ्य हब अत्तरियामा आधुनिक मुटु उपचारको यो सेवाले ऐतिहासिक उपलब्धि जोडेको छ।

अस्पतालमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादव भट्ट र अस्पतालका संस्थापक रघुनाथ पाठकले क्याथल्याब सेवाको संयुक्त शुभारम्भ गरे। करिब १५ करोड रुपैयाँको लगानीमा स्थापित यो सेवा सुदूरपश्चिमका मुटु बिरामीका लागि ठूलो राहत हुने भन्दै अस्पतालका अध्यक्ष डा. आनन्द पाठकले यसको महत्व उजागर गरे। उनका अनुसार, प्रदेशका नागरिकले अब काठमाडौँ वा भारतका विभिन्न शहर धाउनुपर्ने बाध्यता अन्त्य हुँदैछ।

क्याथल्याब सेवा सुरु भएपछि मुटु सम्बन्धी जटिल समस्या– शल्यकर्म बिना पेसमेकर जडान, बन्द भल्भ खोल्ने, मुटुका प्वाल टाल्ने, एन्जियोग्राफी–एन्जियोप्लास्टीजस्ता सुविधाहरू स्थानीयस्तरमै उपलब्ध हुनेछन्। प्रा. डा. भट्टका अनुसार, अस्पतालले प्रदेशकै पहिलो पूर्ण क्षमताको मुटुरोग सेवा प्रारम्भ गरेर दीर्घकालीन स्वास्थ्य सुरक्षा दिशामा महत्वपूर्ण कदम चालिएको छ।

अब सुदूरपश्चिमका बिरामीले समय, पैसा र जोखिम बढाउने लामो यात्राबाट मुक्ति पाउनेछन्। आपत्कालीन मुटु उपचारमा ‘गोल्डेन आवर’ अत्यन्त महत्वपूर्ण हुने भएकाले अत्तरियामै सेवा उपलब्ध हुनु प्रदेशकै स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी प्रारम्भ मानिएको छ।

अस्पतालले क्याथल्याबसँगै अन्य महत्त्वपूर्ण सेवा विस्तार गर्दै जाने योजना समेत सार्वजनिक गरेको छ। यसले सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने तथा प्रदेशलाई मेडिकल हबका रूपमा थप मजबुत बनाउने विश्वास गरिएको छ।

अत्तरिया अस्पतालको यो कदमले प्रदेशभरका मुटु बिरामीलाई नयाँ आशा, भरोसा र जीवनरक्षाको ढुकढुकी प्रदान गरेको छ।






























