
धनगढी : कैलालीको धनगढीमा नेशनल बाथरोग सेन्टरको नवौँ शाखा औपचारिक रूपमा उद्घाटन भएको छ। शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिद्वारा सञ्चालित यो शाखाको उद्घाटन धनगढी–१ का वडाध्यक्ष सन्तोष मुडभरीले एक समारोहका बीच गरे। उनले अब बाथरोगका बिरामीलाई चेकजाँच तथा उपचारका लागि बाहिर धाउन नपर्ने भएकाले स्थानीयलाई ठूलो राहत पुग्ने बताए। साथै, गरिब तथा विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउन सेन्टरलाई आग्रह पनि गरे।

कार्यक्रममा अध्यक्ष एवं वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैधले बाथरोग केवल हात–खुट्टा दुखाइ मात्र नभई धेरै प्रकारका हुने भन्दै, काठमाण्डौँमा उपचारका लागि जाने बाध्यता हटाउन यो शाखा स्थापना गरिएको बताए। उनका अनुसार अब बाथरोग विशेषज्ञको टिमबाट काठमाण्डौँस्तरकै सेवा धनगढीमै उपलब्ध हुनेछ।
नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक होमबहादुर पल्ली थापाले १२ वर्षअघि काठमाण्डौँमा स्थापना भएको सेन्टरले हाल देशभर ८ जिल्लामा सेवा विस्तार गरिसकेको बताए। धनगढीमा शाखा खोलिँदा सुदूरपश्चिमका बिरामीलाई समय, पैसा र यात्राको झन्झट घट्ने उनले उल्लेख गरे। स्थानीय तहको सिफारिसमा विपन्न बिरामीले सहुलियतपूर्ण सेवा पाउने व्यवस्था गरिने समेत जानकारी दिए।



























