
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज (मंगलबार) औपचारिक रुपमा सुरु गरिएको छ। नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदादेवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक पुस्कर राज पन्त र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी खत्रीले नगर परिसरमा १६ वटा मैनबत्ती बालेर अभियानको उद्घाटन गरे।


उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक पन्तले मालाखेतीमा दर्ता हुने लैङ्गिक हिंसाका उजुरीका तथ्यांक र त्यसको अवस्थाबारे जानकारी प्रस्तुत गर्दै स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा बोल्दै उपप्रमुख शारदादेवी रोकायाले महिलामाथि भइरहेका विभिन्न प्रकारका हिंसाको अन्त्य गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताइन्। परिवार, समाज र संस्थागत तहबाट समानता र सम्मानको वातावरण बनाउन नसकेसम्म हिंसा उन्मूलन चुनौतीपूर्ण हुने उनको भनाइ थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी खत्रीले यस वर्षको अभियानलाई विशेष रूपमा विद्यालय तथा समुदाय केन्द्रित बनाइएको जानकारी दिइन्। उनका अनुसार १६ दिनसम्म विद्यालय–स्तरमा लैङ्गिक हिंसा रोकथामसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया, सार्वजनिक जानकारीमूलक कार्यक्रम, सडक नाटक र स्थानीय सञ्चारमाध्यममार्फत जनचेतनामूलक सामग्री प्रकाशन–प्रसारण गरिनेछ। उनले नगरपालिकाले नागरिकमैत्री र सुरक्षित समाज निर्माणलाई प्राथमिकतासाथ अघि बढाइरहेको उल्लेख गरिन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले लैङ्गिक हिंसा अन्त्यका लागि नगरपालिका संस्थागत रूपमा प्रतिबद्ध रहेको भन्दै सामाजिक चेतना, कानुनी ज्ञान र सुरक्षाको पहुँच बढाउन दीर्घकालीन योजना कार्यान्वयन भइरहेको बताए।

उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्था, महिला समूह, विद्यालय प्रतिनिधि, स्थानीय सरोकारवाला र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने यो अभियान गोदावरी नगरपालिकामा पनि सक्रिय रूपमा सुरु भएको छ।





























