बझाङको चैनपुर- ताक्लाकोट सडक भासियो, यातायात ठप्प, घरहरू जोखिममा

Image
Nisarga Hospital

चैनपुर–ताक्लाकोट सडक भासिएपछि बझाङको उत्तरी भेगमा यातायात बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। तलकोट गाउँपालिका–१, सुनिकोट क्षेत्रमा पक्की सडक करिब आठ मिटर भासिएको छ, जसले नजिकैका केही घरहरूलाई पनि जोखिममा पारेको छ। सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र यादवका अनुसार सतहभन्दा झन्डै सात मिटर तल सडक भासिएको देखिएको छ।

CP Hospital Dhangadhi

भासिएको सडक तत्काल मर्मतका लागि अस्थायी काम सुरु गरिएको छ र शुक्रबारसम्म यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ। स्थायी मर्मतका लागि ठूलो पर्खाल निर्माण आवश्यक भएकाले अध्ययन भइरहेको छ।

बझाङलाई चीनको ताक्लाकोटसँग जोड्ने यो सडक करिब ४० किलोमिटर लामो छ र तलकोट तथा साइपाल गाउँपालिकाका स्थानीय, साथै पर्यटकहरूले नियमित प्रयोग गर्ने गरेका छन्। सडक अवरुद्ध भएपछि यातायात ठप्प हुँदा स्थानीयको दैनिक जीवनमा समस्या सिर्जना भएको छ। स्थानीय प्रशासन र सडक विभागले तत्काल र दीर्घकालीन समाधानका लागि काम तीव्र बनाएको बताएको छ।