
धनगढी जेसिज २०२६ का लागि महेश्वर ओझा अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ओझाले आफ्ना प्रतिद्वन्द्वी मनिस कुवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। निर्वाचन समितिका अनुसार कुल ९१ मत खसेकोमा ओझाले ४९ मत प्राप्त गरे भने कुवरले ४० मतमा सीमित भए। बाँकी २ मत बदर भएको जनाइएको छ।

अध्यक्षमा निर्वाचित भएलगत्तै ओझाले आफ्नो कार्यकालका लागि पदाधिकारी टिम घोषणा गरेका छन्। जसअनुसार महासचिवमा दिपक गौतम, कोषाध्यक्षमा आशिष शाह र कानुनी सल्लाहकारमा ललित बम्मलाई मनोनीत गरिएको छ। नयाँ नेतृत्वले संस्थालाई अझ सशक्त, सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
निर्वाचन समितिले यसअघि नै कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदहरूमा उम्मेदवारी निर्विरोध निर्वाचित भइसकेको जानकारी दिएको छ। यससँगै २०२६ कार्यकालका लागि धनगढी जेसिजको नेतृत्व टिम लगभग पूर्ण भएको छ।
नव–निर्वाचित अध्यक्ष ओझाले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिने बताए। धनगढी जेसिजले आगामी दिनमा समुदाय केन्द्रित कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।




























