
धनगढीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन’ सञ्चालनका लागि होटल व्यवस्थापनसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। क्लब चौलानी लिमिटेड र आईएचजी होटल्स एन्ड रिसोर्ट्सबीच भएको उक्त सम्झौतामा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसी तथा आईएचजी होटल्सका तर्फबाट दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रम काठमाडौँस्थित होलिडे इन रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको हो।

करीब अढाई अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको यो पाँचतारे होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा आउने क्लब चौलानी लिमिटेडका चाटर्ड एकाउन्टेन्ट दीपक पाण्डेयले जानकारी दिए। उनका अनुसार होटलमा प्रिमियम स्तरका आधुनिक अतिथि कक्ष, रुफटप स्विमिङ पुल, बहु–परिकार रेस्टुरेन्ट, फिटनेस सेन्टर तथा बैठक, गोष्ठी र सम्मेलनका लागि अत्याधुनिक सभाहलको व्यवस्था रहनेछ।
यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा र लगानीका लागि नयाँ मापदण्ड स्थापना गर्ने विश्वास प्रबन्ध निर्देशक मानसिंह साउदले व्यक्त गरे। होटल सञ्चालनमा आएपछि क्षेत्रीय पर्यटन प्रवर्द्धन, व्यवसायिक गतिविधि विस्तार र रोजगारी सिर्जनासँगै समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
होटेल आगामी २०८४ सालको नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तथा तयारी कार्य तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।






























