
अत्तरियाः सृजनशील युवा क्लबद्वारा आयोजित सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । बिहीबार मात्रै करिब ६ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सव स्थल दिनभर दर्शकले भरिभराउ रहँदा अत्तरियाको माहोल नै उत्सवमय बनेको थियो ।


टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीका अनुसार बिहानदेखि साँझसम्म दर्शकको भीड निरन्तर बढिरहेको थियो । परिवारसहित आएका दर्शकदेखि युवायुवतीसम्मको उल्लेख्य सहभागिताले महोत्सवको आकर्षण झनै बढाएको उनको भनाइ छ । स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवप्रति जनस्तरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ ।
आजको मुख्य सांगीतिक कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र लोकप्रिय गायक रमेश भट्टराईले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । उनीहरूको प्रस्तुतीसँगै दर्शकहरू नाचेका, गाएका र तालमा ताल मिलाएका दृश्यले महोत्सवलाई थप रोमाञ्चक बनाएको थियो । कलाकार र दर्शकबीचको आत्मीयताले कार्यक्रमलाई अझ स्मरणीय बनाएको सहभागीहरूको प्रतिक्रिया छ ।
महोत्सव अन्तर्गत भोलि हुने सांगीतिक कार्यक्रममा देउडा गायक भुवन दाहाल, चेतन बोहरा, सरस्वती सेठी र पवित्रा भण्डारीसहित स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ । देउडा, लोक तथा आधुनिक संगीतको संगम प्रस्तुत गरिने कार्यक्रममा स्थानीय प्रतिभालाई प्राथमिकता दिइनेछ ।
स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले सामाजिक सद्भाव र सांस्कृतिक चेतनामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरूमा अझै दर्शक संख्या बढ्ने आयोजकको विश्वास छ ।
































