
अत्तरिया : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा रहेको राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयबाट ५३६ जना विद्यार्थी दिक्षित भएका छन् ।

बिहिबार एक समारोहकाबिच सिसम ५१ जुनियर एनसिसीका ५३६ जना विद्यार्थीहरु दिक्षित भएका हुन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयमा आयोजित दिक्षान्त कवाज कार्यक्रममा उनीहरुलाई सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी किरण केसीले दिक्षित गरेका थिए ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी १४ जिल्लाका १८ वटा विद्यालयका २७० छात्र र २६६ छात्रा गरी ५३६ जना विद्यार्थीहरु दिक्षित भएको शिक्षालयले जनाएको छ ।


दिक्षान्त कवाज कार्यक्रममा सम्वोधन गर्दै सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी केशीले यस तालिमले युवाहरुमा अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने भावनाको विकास गर्ने बताए ।
उनले सधैँ समाज र राष्ट्रप्रति समर्पित हुन दिक्षित विद्यार्थीहरुलाई सुझाव दिए । बुधबार बेलुकी शिक्षालयमा आयोजित सांस्कृतिक साँझमा क्याडेट विद्यार्थीहरुले आ–आफ्नो भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ८४ हजार ३७३ जना क्याडेट छात्र छात्राहरुलाई तालिम गराइसकेको छ ।
































