
सरकारले सुदूरपश्चिम प्रदेशका चार जिल्ला सहित देशभर नौ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयअन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्दै उक्त निर्णय गरेको हो। यससँगै दुर्गम तथा सेवा पहुँचबाट टाढा रहेका क्षेत्रका नागरिकले प्रशासनिक सेवा स्थानीय तहबाटै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर र बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिनेछ। यी स्थानमा कार्यालय सञ्चालनमा आएपछि नागरिकता, राहदानी, शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायतका सेवामा सहजता आउने विश्वास सरकारको छ।
यसैगरी अन्य जिल्लामा ताप्लेजुङको श्रीचङ्गा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट र सङ्खुवासभाको हिदाङगढीमा पनि नयाँ इलाका प्रशासन कार्यालय थपिने निर्णय भएको छ।
सरकारले नयाँ कार्यालय स्थापनाले स्थानीयस्तरमै सेवा प्रवाह प्रभावकारी हुने, प्रशासनिक झन्झट घट्ने र राज्यको उपस्थिति बलियो हुने अपेक्षा गरेको छ।






























