
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–४ बाट नव युवा उम्मेदवारका रूपमा बम बहादुर विकको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला समितिको बैठकले नव युवा क्लस्टरअन्तर्गत विकको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बम बहादुर विक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव रहिसकेका अनुभवी विद्यार्थी नेता हुन्, जसले लामो समयदेखि विद्यार्थी राजनीति तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
नेकपाले यसपटक समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना नव युवा र एक जना महिलाको नाम सिफारिस गर्ने नीति अपनाएको छ। सोही नीतिअनुसार कैलाली–४ बाट महिलातर्फ चुन कुमारी चौधरीको नाम सिफारिस गरिएको छ। पार्टीका अनुसार चौधरी सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी नेतृ हुन्।
त्यसैगरी खुला तर्फ कैलाली–४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुवर र लक्षीराम आचार्यको नाम सिफारिस गरिएको छ। पार्टीले युवा, महिला तथा अनुभवी नेताहरूको संयोजनमार्फत क्षेत्रको समग्र विकास, समावेशी राजनीति र जनअपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको जनाएको छ।

































