
उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्तावमा तत्काल अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै एकताका बाँकी प्रयासका लागि थप गृहकार्य गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीको उम्मेदवारमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव राखेको थियो । उक्त प्रस्तावबारे पार्टी संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा विस्तृत ब्रिफिङ गरेका थिए ।
तर, प्रस्तावमा पार्टीको नाम र चुनाव चिन्ह यथावत् रास्वपा र घण्टी नै राख्ने शर्तप्रति उज्यालो नेपाल पार्टीले फरक मत राख्दै पुनर्विचार आवश्यक रहेको अडान लिएको छ । यही कारण प्रस्ताव अस्वीकार गर्दै एकताको बाँकी संवाद अघि बढाउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।
पार्टीले जारी गरेको निर्णयमा सहअस्तित्वलाई मुख्य आधार बनाउँदै सबै वैकल्पिक र अग्रगामी राजनीतिक दलसँग आवश्यक सहकार्यका लागि आह्वान गरिएको छ । घिसिङले पनि आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट धारणा व्यक्त गरेका छन् ।






























