अत्तरियाको डीडीसी कार्यालय सार्ने प्रयासविरुद्ध स्थानीयको तालाबन्दी, क्रेन–ट्रक फिर्ता पठाइयो

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। डीडीसी अत्तरियाबाट धनगढी सार्ने तयारी सुरु भएपछि विरोधस्वरूप स्थानीयले कार्यालयमा प्रवेश रोक्दै तालाबन्दी गरेका हुन्।

CP Hospital Dhangadhi

स्थानीयले डीडीसीमा जडान भएका उपकरण सार्न थालिएपछि तत्काल रोक लगाएका थिए। विरोधका क्रममा ल्याइएको क्रेन र ट्रकलाई पनि फिर्ता पठाइएको छ। तारा देवी महराका अनुसार, विगत एक वर्षदेखि डीडीसी अत्तरियामा रहोस् भन्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए। तर, जानकारी बिना डीडीसी सार्न थालिएको पाएपछि उनीहरूले उत्पादन कक्षमा तालाबन्दी गरेका हुन्।

गाउँकी गीता चौधरीले उद्योगका सामान पनि सार्न थालिएको पाएपछि तत्काल विरोध व्यक्त गरिन्। उनका अनुसार, डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका र वडा कार्यालयले बेवास्ता गरेको कारणले पनि तालाबन्दी गरिएको हो।

वडा नम्बर–१ का वडाध्यक्ष गोपाल दत्त भट्टले भने, “डीडीसी सार्न नदिने हाम्रो चाहना यथावत् छ। डीडीसीको दोहोरो चरित्रका कारण आवश्यक जग्गा उपलब्ध गराउन सकिएन। हामीले कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नआएपछि सार्ने प्रक्रिया सुरु भएको हो।” उनले डीडीसीका जिएमले ४० लाख रुपैयाँ र १० बिगाहा जग्गा उपलब्ध गराउन दबाब दिएको दाबी गरे।

गत वर्ष पुसमा डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढेको थियो। विरोध स्वरूप गोदावरी–१ का वडाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो जसले डीडीसीको लागि आवश्यक जग्गा नगरपालिका क्षेत्रमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

स्थानीयको विरोध र तालाबन्दीले डीडीसीको सार्ने प्रक्रिया अस्थायी रूपमा रोकिएको छ र आगामी दिनमा समाधानको खोजी हुने अपेक्षा गरिएको छ।