
कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिने भएका छन्। आयोजकका अनुसार आजको कार्यक्रममा लोकप्रिय गायक चक्र बम, चर्चित गायिका रचना रिमाल, डान्सर स्मारिका ढकाल, नायक प्रभात पाल ठकुरी, गायक लाल बोगटी तथा अमर रानाले आ–आफ्ना विशेष प्रस्तुति राख्ने छन्।

स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्। महोत्सव स्थलमा थारु गाउँको झल्को दिने प्रदर्शनी, स्थानीय उत्पादन तथा हस्तकलाको प्रदर्शनीसँगै मनोरञ्जनात्मक गतिविधिहरूले दर्शकको ध्यान तानेका छन्। यसले स्थानीय पहिचान र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।
आज सार्वजनिक बिदा तथा सुदूरपश्चिममा विशेष रूपमा मनाइने पुस १५ परेकाले महोत्सवमा दर्शकको उल्लेख्य भीड लाग्ने अपेक्षा गरिएको छ। परिवारसहित अवलोकन गर्न सहज वातावरण बनाइएको आयोजकले जनाएको छ। पुस ९ गतेदेखि सुरु भएको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ।






























