
कैलालीसहित पश्चिम तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय तथा ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।

चिसो बढेपछि स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् भने बिहानै खुल्ने पसल तथा बजार ढिलो गरी मात्र खुल्न थालेका छन्। साँझपख चिसो झनै बढेपछि बजार क्षेत्र छिट्टै सुनसान हुन थालेको छ।
हुस्सु र कुहिरोले दृश्यता कम हुँदा सवारीसाधन सञ्चालनमा पनि समस्या देखिएको छ। चालकहरूलाई दुर्घटनाको जोखिम बढेको बताइएको छ। चिसोका कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत मौसमी रोगका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
चिकित्सकले न्यानो कपडा प्रयोग गर्न, आगो ताप्दा सावधानी अपनाउन तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गरेका छन्। स्थानीय प्रशासनले पनि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।






























