
अत्तरिया: गोदावरी नगरपालिका–अत्तरिया क्षेत्रमा सञ्चालन भइरहेको सृजनशील गोदावरी संस्कृतिक महोत्सव दर्शकको उल्लेखनीय सहभागिताका कारण दुई दिन थप गरी अब पौष २१ गतेसम्म सञ्चालन हुने भएको छ। यसअघि पौष १९ गतेसम्म आयोजना हुने भनिएको महोत्सवप्रति स्थानीय तथा बाह्य दर्शकको उत्साह बढ्दै गएपछि अवधि थप गरिएको हो।

महोत्सव संयोजक नरबहादुर राईका अनुसार सुदूरपश्चिमको कला, संस्कृति र पहिचानको संरक्षणसँगै आर्थिक, सामाजिक, पर्यटन, औद्योगिक तथा कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले अपेक्षाभन्दा बढी माया र समर्थन पाएको छ। परिवारसहित अवलोकन गर्न आउने दर्शकको संख्या दिनानुदिन बढ्दै जाँदा महोत्सवको माहोल थप उत्सवमय बनेको उहाँले बताउनुभयो।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, स्थानीय उत्पादन, हस्तकला तथा कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धनसम्बन्धी सूचना स्टलहरू तथा समुदायमैत्री मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
प्रवेश शुल्क साधारण दर्शकका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।






























