
बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ स्थित बनारसी धाम, विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा १४४ वर्षमा एकपटक लाग्ने महाकुम्भ मेला सुरु हुन लागेको छ। धामका पिठाधिश्वर आचार्य गणेशप्रसाद पन्तका अनुसार माघ १ गते मकर स्नानसँगै महिनाभरि मास पारायण मेला आयोजना हुनेछ।

मेलाको अवसरमा माघ ५ गते शुक्ल प्रतिपदादेखि नवरात्र सुरु भएर माघ १४ गते शल्य दशमीसम्म चल्नेछ। हरेक वर्ष झैँ यस वर्ष पनि भारतको उत्तराखण्ड र उत्तर प्रदेशसहित बैतडीका भक्तजन मेला अवलोकनका लागि आउने तयारीमा छन्।
बनारसी धाममा ४२१ वर्षअघि जातीय छुवाछूत उन्मूलन गरिएको थियो। मन्दिरमा मूल पुजारी वयनी लुहार थरका व्यक्ति हुने परम्परा छ। हाल ६ जना दलित समुदायका पुजारी कुणीका धिरे लुहार, बस्तीका पदमे लुहार, बोहरीका गौरे लुहार, नङाणीबाटाका नरिभान लुहार, खिपालीका झुले लुहार र गोकुलेश्वरबाट जनक लुहार छन्।
पुजाआजा क्रमशः कुणीबाट गोकुलेश्वरतर्फ पालोअनुसार हुने, पुजा सामग्री पुजारी आफैं ल्याउने, र चन्द थरका सन्तानले सहस्त्रलिङ्ग धामीसँग सहकार्य गर्ने परम्परा यस धाममा जारी छ। सुकाबैनाका भट्ट परिवारका मुखियाले पनि पुजामा खटिने गर्छन्।






























