पद्म प्रभात प्रतिष्ठानद्वारा साहित्य, पत्रकारिता र प्रतिभा सम्मानका तीन पुरस्कार स्थापना

Image
Nisarga Hospital

साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी ‘प्रभात’को नामबाट स्थापित पद्म प्रभात प्रतिष्ठान, धनगढीले साहित्य, पत्रकारिता र नवप्रतिभा प्रोत्साहनका लागि तीन वटा पुरस्कार स्थापना गरेको छ। प्रतिष्ठानको शनिबार धनगढीमा सम्पन्न बैठकले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

प्रतिष्ठानका अनुसार रु. १ लाख ११ हजार १ सय ११ नगद राशीसहितको ‘पद्म प्रभात प्राज्ञिक पुरस्कार’, रु. ११ हजार १ सय ११ राशीसहितको ‘पद्म प्रभात पत्रकारिता पुरस्कार’ तथा रु. ११ हजार १ सय ११ नगद राशीको ‘भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार’ स्थापना गरिएको छ।

यी पुरस्कारलाई दीर्घकालीन रूपमा निरन्तरता दिन रु. २० लाखको अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका उपाध्यक्ष हरिलाल गिरीले जानकारी दिए। उनका अनुसार वि.सं. २०८२ सालदेखि यी पुरस्कारहरू नियमित रूपमा प्रदान गरिनेछ।

पुरस्कारका लागि योग्य व्यक्ति तथा संस्थाको छनोट गर्न वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरको संयोजकत्वमा महाकाव्यकार मनिराज जोशी र साहित्यकार तथा सहायक प्राध्यापक गणेशराज जोशी सदस्य रहेको प्रतिभा छनोट उपसमिति गठन गरिएको छ।

प्रतिष्ठानले यी पुरस्कार स्थापनाले साहित्यिक अनुसन्धान, जिम्मेवार पत्रकारिता र नवप्रतिभाको पहिचान तथा प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।