
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५ औँ स्थापना दिवस अर्थात् रजत जयन्तीको अवसरमा पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ। राष्ट्रिय एकता, सीमा सुरक्षाप्रति प्रतिबद्धता र संस्थागत गौरवको सन्देश फैलाउने उद्देश्यसहित झण्डा मार्चको औपचारिक शुभारम्भ गरिएको हो।

गड्डाचौकीबाट प्रारम्भ भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १८ दिनको यात्रा पश्चात् नवलपुर पुग्ने कार्यक्रम रहेको छ। सशस्त्र प्रहरी बलका अनुसार नेपालकै पूर्वी नाकाबाट पनि आजैदेखि अर्को झण्डा मार्च सुरु भएको छ, जुन टोली पनि १८ दिनमै नवलपुरमा पुग्नेछ। पूर्व र पश्चिमबाट आएका दुवै टोली नवलपुरमा भेटिएपछि विशेष समारोह आयोजना गरी रजत जयन्ती मनाइने योजना रहेको छ।
झण्डा मार्चको शुभारम्भ गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले माघ महिनाभर रजत महोत्सवका विविध कार्यक्रम सञ्चालन हुने जानकारी दिए। सशस्त्र प्रहरी बल स्थापना भएको २५ वर्ष पूरा भएको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउँदै राष्ट्रव्यापी सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको उनले बताए।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी लगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।






























