
गोदावरी नगरपालिका–१, पूर्व रोड अत्तरिया स्थित मैदानमा आयोजित सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ सोमबार भव्य रूपमा सम्पन्न भएको छ। “सु.प.को मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान” भन्ने नारासहित सञ्चालन गरिएको महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले बताएका छन्।

सृजनशील युवा क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी र निशर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन कलाकार शोभा त्रिपाठी र पत्रकार सीताराम ओझाले संयुक्त रूपमा गर्नुभएको थियो।
समापन दिन चर्चित गायक दुर्गेश थापाको ऊर्जाशील प्रस्तुति मुख्य आकर्षण बन्यो। स्थानीय कलाकारहरूको गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिले दर्शकलाई थप रोमाञ्चित बनाएको थियो। कार्यक्रममा बोल्दै डा. जोशीले गेटा विश्वविद्यालय र डिडिसी स्थानान्तरणप्रति चासो व्यक्त गर्नुभयो भने युवा नेता लोकराज पाण्डेयले खेलमैदानको अभाव र सचेत मतदानको आवश्यकता औँल्याउनुभयो।
अध्यक्ष राईका अनुसार महोत्सवमा करिब २५ हजार विद्यार्थी र ५० हजारभन्दा बढी दर्शक सहभागी भएका थिए। आयोजकले सबै सहयोगीप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।






























