कञ्चनपुरको बेलडाँडीमा सी.पी. अस्पतालको निःशुल्क स्वास्थ्य शिविर संचालन हुदै, विशेषज्ञ सेवा गाउँमै

Image
Nisarga Hospital

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पुस २६ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित सी.पी. अस्पताल प्रा.लि.को आयोजनामा हुने शिविर बेलडाँडी गाउँपालिका–२ स्थित भवनमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi

अस्पतालका प्रशासकीय अधिकृत हेम जोशीका अनुसार शिविरमा अनुभवी विशेषज्ञ चिकित्सकहरूमार्फत विभिन्न रोगको निःशुल्क जाँच तथा परामर्श प्रदान गरिनेछ। शिविरमा जनरल सर्जरी, फिजिसियन सेवा, हाडजोर्नी तथा नशारोग, नाक–कान–घाँटी, महिला रोगसम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्स–रे सुविधा तथा निःशुल्क औषधि वितरण गरिनेछ।

nawajiwan
Attariya Hospital

ग्रामीण भेगका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।

वि.सं. २०६९ मा १५ शैयाबाट सुरु भएको सी.पी. अस्पताल हाल १०० शैयाको सुविधासम्पन्न अस्पतालका रूपमा विकसित भइसकेको छ। अस्पतालका अध्यक्ष चन्द्र प्रकाश पाण्डेले सुदूरपश्चिमका नागरिकलाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु नै अस्पतालको मूल लक्ष्य रहेको बताएका छन्।

सी.पी. अस्पतालले बेलडाँडी र आसपासका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ।