
जेन जी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९ जना भारतीयसहित २२६ जना अझै फरार रहेका छन्। भदौ २४ गते भएको घटनापछि भागेका कैदीबन्दी हालसम्म पनि सम्पर्कबिहीन अवस्थामा रहेका कारागार प्रशासनले जनाएको छ।

कारागार प्रमुख चिरञ्जीवि सापकोटाका अनुसार हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्र कारागार फर्किएका छन्। फरार रहेकै अवस्थामा एक कैदीबन्दीले आत्महत्या गरेको पुष्टि भएको उनले जानकारी दिए। फरारमध्ये १९ जना भारतीय नागरिक रहेका छन्।

घटनाका बेला कैलाली कारागारमा कुल ६६७ कैदीबन्दी थिए, जसमध्ये ५८ जना महिला थिए। फर्किएका कैदीबन्दीमध्ये धेरैजसो आफैँ सम्पर्कमा आएर कारागार पुगेका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनले फरार कैदीबन्दीलाई स्वेच्छाले फर्कन सूचना जारी गरिसकेको छ। यसैबीच, नेपाल प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र बनाउँदै विभिन्न स्थानमा अनुसन्धान तथा निगरानी जारी राखेको जनाएको छ।































