
अत्तरिया : कैलालीको अत्तरियामा भर्खरै सम्पन्न गोदावरी सांस्कृतिक महोत्सव २०८२ले स्थानीय कला, संस्कृति र युवाको प्रतिभा उजागर गर्दै अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्यो। यस महोत्सवलाई सफल बनाउन पर्दापारी खटिएका धेरै युवा पात्रहरू प्रेरणादायी बनेका थिए। तीमध्ये विशेष चर्चा योग्य नाम हो- धर्म कुँवर, जसले स्टेज व्यवस्थापनदेखि मिडिया समन्वयसम्म फरक पहिचान बनाउँदै महोत्सवलाई भव्य, व्यवस्थित र सफल बनाउन योगदान गरे।

महोत्सव सुरु हुनुअघि ग्राउण्ड तयार गर्ने काममा कुँवर सक्रिय देखिन्थे। जेसिबी चालकसँग समन्वय गर्दै मैदान सम्याउन सुझाव दिनु, सरसफाइ व्यवस्थापन गर्नु र सबै व्यवस्था व्यवस्थित बनाउने उनको पहलले महोत्सवको आधार बलियो बनायो। उनी अध्यक्ष नरबहादुर राई सँग नजिक रहेर सल्लाह, सुझाव र समन्वयमा महोत्सवलाई सभ्य ढंगले अघि बढाउन भूमिका निर्वाह गरे।
कुँवर महोत्सवका मिडिया संयोजक समेत थिए। विभिन्न सञ्चारकर्मीहरूसँग निरन्तर संवाद गर्दै कार्यक्रमका गतिविधि प्रभावकारी रूपमा बाहिर ल्याउने योजना बनाउँदै उनी निरन्तर सक्रिय रहे। उद्घोषक, कलाकार र अतिथिसँग समन्वय गरेर स्टेज सजावट, स्वागत र खादा–माला व्यवस्थापनमा विशेष ध्यान दिए। भीड बढेका समयमा युवाहरूको टिमसँग मिलेर शान्त र व्यवस्थित वातावरण कायम राख्न उनले योगदान पुर्याए।
धर्म कुँवर राजनीतिक रूपमा नेपाली कम्युनिस्ट पार्टीसँग आबद्ध भए पनि व्यवहारमा सबै दल, समुदाय र युवासँग मिलनसार, सहयोगी र सद्भावपूर्ण रूपमा प्रस्तुत हुन्छन्। हाँसो–ठट्टा, आत्मीयता र अनुभव साटासाट गर्ने उनको गुणले उनलाई सहयोग र माया प्राप्त गराएको छ।
महोत्सव अवधिभर धर्म कुँवरको सक्रियता, जिम्मेवारी भाव र समर्पणले दर्शक, सहभागी र मिडियामा प्रेरणादायी उदाहरण प्रस्तुत गर्यो। यस्ता युवाहरू समाजका जुनसुकै जिम्मेवारीमा पनि इमानदारीपूर्वक काम गर्न सक्ने प्रमाण बनेका छन्। सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले धर्म कुँवर जस्ता जिम्मेवार र प्रेरणादायी युवा पात्रलाई चिनाउँदै स्थानीय प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको छ, जसले भविष्यमा पनि यस्तै सकारात्मक योगदान र उदाहरणका रूपमा काम गर्ने विश्वास जगाउँछ।






























