
डडेल्धुरा अस्पतालले जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी शल्यक्रिया सर्वसुलभ, सुरक्षित र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको छ। यससँगै उपचारका लागि ठूला सहर वा जिल्लाबाहिर जानुपर्ने बाध्यता घट्नुका साथै बिरामी र परिवारले व्यहोर्नुपर्ने आर्थिक बोझ र झन्झट कम भएको छ।

अस्पतालमा हालै विभिन्न जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्। अमरगढी नगरपालिका–७ का ६५ वर्षका पुरुष बिरामीको तिघ्रा फेर्ने शल्यक्रिया सफल भएको छ। यस्तै, अमरगढी नगरपालिका–१० का ७० वर्षका पुरुषमा देखिएको घुँडाको हड्डी भाँचिएको समस्या पनि शल्यक्रियामार्फत उपचार गरिएको छ।

डडेल्धुरा बाहिरका जिल्लाबाट समेत बिरामी सेवा लिन आउन थालेका छन्। बैतडीको शिवनाथ गाउँपालिका–३ की ६५ वर्षीया महिलाको घुँडासहित टिबिया र फिबुला हड्डी भाँचिएको जटिल अवस्थाको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। दार्चुलाको लेकम गाउँपालिका–६ की २७ वर्षीया महिलाको पनि जटिल शल्यक्रिया सम्पन्न भएको छ।

अस्पतालका अनुसार पुस महिनाका २५ दिनमै जटिल प्रकृतिका ४० वटा शल्यक्रिया सम्पन्न भइसकेका छन्, जसमध्ये केही शल्यक्रिया सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गरिएको दाबी गरिएको छ। डडेल्धुरा अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै गुणस्तरीय उपचारलाई निरन्तरता दिने जनाएको छ।































