
सुदूरपश्चिम प्रदेश सरकारले साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई औपचारिक रूप दिएको हो।

यसअघि साउन २५ गते मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो, जसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न ‘सडक मर्मत समूह निर्देशिका’ स्वीकृत गरेको छ। प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडकको नियमित मर्मतसम्भार मर्मत समूहमार्फत गरिनेछ। प्रदेश सरकारले प्रत्येक वर्ष करिब २०० किलोमिटर कालोपत्रे सडक निर्माण गर्दै आएको र नियमित मर्मतले सडकको आयु वृद्धि हुने अपेक्षा गरिएको छ।

बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्नुका साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ संशोधनसम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।































